भवन वनाउने अनुमति नलिइ ऐतिहासिक धार्मिक क्षेत्र विजयपुरको प्रवेशद्धार नजिकै निर्माण गरिएको चर्च स्थान्तरण गर्न माग गर्दै धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १४ विजयपुरको प्रवेशद्धार सिहंदेवी चौकको बालगोपाल मन्दिर अगाडि निर्माण गरिएको चर्चका कारण सामाजिक सदभाव बिग्रन सक्ने तर्फ मध्यनजर गर्दै ध्यानाकर्षण गरिएको हो । विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले उपमहानगरपालिका प्रमुख हर्कराज राई तथा उपप्रमुख आइन्द्रविक्रम वेघालाई ध्यानाकर्षण पत्र वुझाउदै अनुमति नलिइ निर्माण गरिएको चर्चलाई स्थान्तरण गरि धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरिएको छ । समितिको संयोजक जुद्ध लोहनीले धर्म निरपेक्ष मुलक भएको अरुको धर्म सस्कृतिका विषयमा आफुहरुको विरोध नभएको तर भविष्यमा आउन सक्ने समस्यालाई मध्यनजर गरेर अहिले नै सर्तकता अपनाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।
ध्यानाकर्षण पत्र वुझ्दै उपप्रमुख वेघाले धार्मिक सहिष्णुतामा असर पर्ने कुनै पनि कार्य कुनै पनि धर्म मान्नेहरुले अर्काे धर्म मान्नेलाई हुने गरि गर्नु नहुने उल्लेख गरिएकाले उक्त चर्चका विषयमा वास्तविकता वुझेर अघि वढ्ने जानकारी गराए । विजयपुर क्षेत्रमा पिण्डेश्वर , दन्तकाली , बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभरा वन्दवासिनी लगायत ३३ वटा धार्मिक मठ मन्दिरहरु रहेका छन । यहाँ देश विदेश देखि पनि ठुलो संख्यामा धार्मिक पर्यटकहरु आउने गरेका छन ।




















