सुनसरी । जिर्ण बनेको सडक लामो समय देखि वनाइदिने भनेर आश्वासन दिएर पनि नबनाइ दिएको भन्दै सुनसरी सदरमुकाम इनरुवामा जनप्रतिनिधिहरु प्रति आक्रोश पोखिएको छ । इनरुवा नगरपालिका वडा नम्बर ३ सखुवागाछीका युवाले नगर प्रमुख केदार भण्डारी सहित जनप्रतिनिधिहरुका विरुद्धमा नारावाजी गर्दै सडक अवरोध गरेका हुन । जिर्ण बनेको सखुवागाछि मधेशा सडकको नाम केदार मार्ग राखेर सडकमा बाँस राखेर युवाहरुले सडक अवरोध गरेका छन । लामो समय देखि सडक भत्कीएर खाल्डाखुल्डी भएको  हिउँदमा धुलाम्मे र बर्षायाममा हिलाम्मे हुदै आएपनि जनप्रतिनिधिले सडक वनाइ दिन आफुले गर्दै आएको आग्रह सुनुवाई नगरेका कारण वाध्य भएर संघर्षमा उत्रनु परेको युवाहरुले वताएका छन ।  आन्दोलनमा उत्रिएका युवाहरु नगर प्रमुख  भण्डारी सहित वडा नम्बर ३ का अध्यक्ष रमेश श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा प्रति आक्रोशित वनेको थिए । स्थानीय युवाहरु  दिपेश दुलाल ,  जोसेप दुलाल लगायतले सुरु गरेको आन्दोलन माग पुरा नभए सम्म चरणवद्ध रुपमा जारी राख्ने चेतावनी समेत दिइएको छ । युवाहरुले सुरु गरेको आन्दोलनमा स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।