जुम्लामा दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् ।मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । 

गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए भने स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘भागी विवाह’ गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् । बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने प्रहरीको भनाइ छ ।

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । ‘पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ,’ जोशीले भने ।

मुकुन्द र ती किशोरीको घर करिब एक किलोमिटर दूरीमा छ । सदरमुकाममा बसेर पढ्दै आएका मुकुन्द १२ कक्षा सकेर स्नातक पढ्ने तयारीमा थिए । स्थानीयका अनुसार ती किशोरी गाउँकै स्कुलमा पढ्थिन् । किशोरीको खोजीका लागि कर्णाली प्रदेशभरिका प्रहरी इकाइलाई खबर गरिएको इन्सपेक्टर जोशी बताउछ्न।