कैलालीमा शनिबार दिउँसो कारागार अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गरेका छन् । कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन् भने उनको टाउकोमा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको बताउदै सोही क्रममा प्रहरी सहायक निरीक्षक माथि चोट लागेको जानकारी दिए ।अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।
केही समयअघि मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप भएको कुरा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको छ । कैलाली कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो रहेको छ ।




















