इटहरी । रानी विराटनगर धरान सडक खण्ड विस्तार अन्तरगत तरहरा देखि सेउती पुल सम्मको सडक खण्डको निर्माण जिम्मा पाएको निर्माणले ढिलासुस्ती गरेको भन्दै इटहरी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
निर्माण कार्य ढिलो हुदाँ जनताले सास्ती पाईरहेको भन्दै पटक पटक चाँडो काम गर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएपनि काम ढिलो गरेको गुनासो वढेपछि अनुगमनमा भएको नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले निर्माण कम्पनीको गाडी नियन्त्रण लिएको हो ।
अनुगमनका क्रममा जादा काम नगरिएको पाइएपछि त्यहाँ रहेको निर्माण कम्पनीको गाडी उपमहानगरपालिकाले ल्याएको नगरप्रमुख हेमकर्ण पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । निर्माण कार्यसंगै हुदै आएका अन्य ठाउँमा काम सकिसक्दा पनि इटहरी २० तरहरा देखि सेउती पुल सम्मको काममा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीलाई वार्तामा आएर तीन दिन भित्रमा छलफल गरी सडकको काम गर्न समेत नगरप्रमुख पौडेलले आग्रह गरेका छन ।
तरहरा देखि सेउती सम्मको सडक विस्तारको काम ढिलो हुँदा खाल्डाखुल्डी र भत्काइएका ठाउँहरुका कारण साना ठुला दुर्घटना हुने देखि लिएर धुलो धुवाँका कारण जनताको स्वास्थ्यमा समेत असर परिरहेको भन्दै गुनासो वढी रहेका छन ।




















