धरान । धरान १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन् । धरान १७ को आदर्श चौक बस्ने सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास विस्फोट हुँदा ८ जना घाइते भएको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिनुभयो ।
८ जना घाइते मध्ये ४ जना गम्भीर भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक प्रभु ढकालले जानकारी दिनुभयो घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।
घाइते सबैको उद्धार गरी अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । ग्यास चुहावट भएर विस्फोट हुँदा घरमा भने क्षति नभएको प्रहरी उपरिक्षक ढकालले जानकारी दिनुभयो ।




















