इनरुवा । साहित्यिक गतिविधिहरु कम हुने सुनसरीको सदरमुकाम इनरुवामा पछिल्ला केही वर्ष देखि सावित्री गोपाल स्मृति ट्रष्टले आयोजना गर्ने साहित्यिक कार्यक्रमहरु साहित्यकारहरुलाई उत्साहित वनाउदै आएको छ । यही क्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर ट्रष्टले लक्ष्मी जयन्ती कार्यक्रमको आयोजना गरेको छ ।
ट्रष्टका अध्यक्ष रोशन भट्टराईको अध्यक्षता तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा लक्ष्मी जयन्ती कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा समाजसेवी तथा साहित्यकार गोपाल कोइराला त्यागी , साहित्यकारहरु खेमराज खनाल खखेरा , पुरुषोत्तम घिमीरे, सागर तिमल्सिना लगायतले महाकविको जन्मजयन्तीको अवसरमा महाकवि देवकोटाका विषयमा चर्चा साथै कविता वाचन गरेको थिए ।
सोही अवसर पारेर सावित्री गोपाल स्मृति ट्रष्टले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । ट्रष्टद्धारा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधि सहयोग रहेको थियो । इनरुवा नगरपालिका वडा नम्बर ३ सखुवा गाछी चोकमा लक्ष्मी जयन्ती र रक्तदान कार्यक्रम सहित ट्रष्टले सखुवागाछी स्थापना दिवस समेत मनाएको छ ।
सो अवसरमा इनरुवाको इतिहास र सखुवागाछी नामका विषयमा इनरुवामै ८४ वर्ष अघि जन्मिएका समाजसेवी तथा इनरुवा नगरपालिका पुर्व नगरप्रमुख गोपाल कोइरालाले चर्चा गरेका थिए ।




















