इटहरीको मुख्य चौकमा शनिवार साँझ धारिलो हतियार प्रहारबाट घाइते सिटी चालकको मृत्यु भएको छ । धारिलो हतियार (कटी) प्रहार गर्दा इटहरी ५ बस्ने सफारी चालक भुने चौधरीको बायाँ हात छिनेको अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।
४६ वर्षीय चौधरीमाथि धारिलो हतियार प्रहार भएपछि प्रहरीले तत्काल उनको उद्धार गरेर धरानस्थित बिपी प्रतिष्ठानमा पुराएको केही समयपछि उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
चौधरीको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । मृतक चौधरीको बायाँ हात घटनास्थलमै खसेको थियो । पछि प्रहरीले छिनेको हात उठाएको थियो । को २ ह ४७४६ नम्बरको सिटी चलाउने चौधरीलाई इटहरी ६ स्थित मुख्य चौकको गुहेश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्स अगाडी कटी प्रहार भएको थियो ।
उनीमाथि छिमेकी राम भुजेलले कटी प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । भुजेलसँग अन्य केही व्यक्तिसमेत साथमा रहेको आधारमा भुजेलसहित संलग्नहरूको खोजी भइरहेको छ । यता इलाका प्रहरी कार्यालय इटहरीले घटनामा संलग्न हुनसक्ने आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।




















