लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ४ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन भएको छ ।
वार्ड नम्बर ४ स्थित टेलिकम लाइनमा भर्खरै निर्माण सम्पन्न भएको नवनिर्मित वडा कार्यलयको भवनबाट सेवा सुरु गरिएको हो ।
बुधबार लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले एक कार्यक्रमका बिच भवनको उद्घाटन पछि सेवा सुरु गरिएको छ ।
लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्य मगर, लेटाङ ३ का वडाध्यक्ष डम्बरबहादुर राई, विभिन्न वडाका वडासदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, पत्रकार तथा स्थानीय वडाबासीको समेत उपस्थिति रहेको थियो ।
नगर प्रमुख लावतीले रिवन काटेर भवनको उद्घाटन गर्नुभयो भने उपप्रमुख निरौलाले शिलालेख वाचन गरेर सुनाउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लावतीले नयाँ भवनमा सरेसँगै वडा नम्बर ४ को आफुनै भवन बाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो । 
उहाँले नगरपालिकाले अब धमाधम नयाँ कामहरु अघि बढाउँदै लैजाने समेत जानकारी दिनुभयो । नगरपालिका नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थामा आइपुगेको भन्दै अब धमाधम नयाँ योजनाहरु कार्यान्वयन हुँदै जाने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख कृष्णकुमारी निरौलाले नगरकै सानो वडा भएपनि नमुना वडाको रुपमा रहेको वडा नम्बर ४ नयाँ भवनमा सर्ने पहिलो वडा भएको भन्दै बधाइ दिनुभयो ।
उहाँले नयाँ भवनमा नयाँ जोसजाँगरका साथ वडावासीलाई सहज रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै वडाध्यक्ष रामकुमार श्रेष्ठले नयाँ भवनबाट सेवा प्रभाव सुरु भएसँगै सहजता हुने बताउनुभयो ।
उहाँले वडा कार्यालय अघि सडक आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा सौन्दर्यकरण गर्ने काममा आफु लागिपरेको समेत बताउनुभयो । करिव ६ कठ्ठा क्षेत्रफलको परिसर रहेको नवनिर्मित भवनमा फराकिलो प्यासेजसहित ६ वटा कोठा रहेको भवन आपांगमैत्री र भूकम्प प्रतिरोधि रहेको छ ।
जिल्ला समन्वय समिति मोरङको ६० प्रतिशत र लेटाङ नगरपालिकाको ४० प्रतिशत गरि करिव ५८ लाख लागतमा भवन निर्माण सम्पन्न भएको नगरपालिकाका इञ्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो ।
निर्माणको जिम्मा पाएको बाराजी कन्ट्रक्सनले २०७७ चैत्रमा निर्माणको सम्झौता गरेकोमा २०७९ असारमा निर्माण सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
यो भवन नै लेटाङ नगरपालिका घोषणा भएपश्चात निर्माण गरिएको पहिलो वडा कार्यालय भवन हो । यसँगै वडा नम्बर ९ को वडा कार्यालय भवन समेत निर्माण सुरु गरिएकोमा अन्तिम चरणको काम बाँकी रहेको छ ।




















