धनकुटा । जिल्लामा सात स्थानीय तह रहेका छन् । उक्त स्थानीय तहमा ६० वटा वडा रहेका छन् । जसमध्ये पाँच दलिय गठबन्धनले जितेका सातवटै पालिकाका ३० वटा वडामा कर घटाउनुका साथै व्यक्तिगत घट्ना दर्ता र स्वास्थ्य बिमा समेत निःशुल्क गर्ने घोषणा गरिएको छ ।
गठबन्धनको बैठकको निर्णय पश्चात विजयी गठबन्धनले घोषणा गरिएको छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता खेवा गुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार गठबन्धनले जितेका उक्त पालिकाहरुमा पद वहाली कार्यक्रममै एकल महिला, अति विपन्न, अपाङ्ग, अल्पसंख्यक र जेष्ठ नागरिकको स्वास्थ्य बिमा वापतको रकम वडाले व्यहोर्ने निर्णय भएको छ ।
धनकुटा जिल्लामा गठबन्धनले जितेको पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा पद वहालीसँगै विगतमा एमालेको स्थानीय सरकारले बढाएको कर घटाउने निर्णय गरिएको जनाईएको छ । गठबन्धनले जितेका पालिका र वडाहरुमा व्यक्तिगत घटना अन्तरगत जन्म, मृत्यु, विवाह दर्ता र नागरिकताको सिफारिस दस्तुर समेत निःशुल्क गर्ने जिल्ला स्तरीय गठबन्धनको निर्णय बमोजिम पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राया, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई र छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र वहादुर सुब्बाले आ–आफ्ना पालिकामा कर घटाउने, निशुल्क स्वास्थ्य बिमा गरिदिने र ब्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने घोषणा गर्नुभएको हो ।
कांग्रेस केन्द्रिय समितिको निर्देशन र धनकुटा जिल्ला कार्य समितिको पदाधिकारी बैठकको निर्णय अनुसार नेपाली कांग्रेसको तर्फबाट धनकुटाको चार पालिकाका नव निर्वाचित प्रमुखहरुले जनताको पक्षमा यस्तो निर्णय गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
धनकुटा जिल्लामा विगत एमालेको स्थानीय सरकारले कर चरम रुपमा बढाएर जनताको ढाड भाच्ने काम गरेकोलेमा गठबन्धनले यस पटक जितेका पाख्रिवास, महालक्ष्मी, सागुरीगढी र छथरजोरपाटी गरी जम्मा चार पालिकामा करलाई बैज्ञानिक र व्यवहारिक बनाउन कर समायोजन गरी कर घटाउने घोषणा गरेपछि जनतालाई ठूलो राहत मिल्ने गठबन्धनका नेताहरुको दाबी छ ।
गठबन्धनले विजय प्राप्त गरेको धनकुटा नगरपालिका वडा नं. ३ र १० मा वडाध्यक्ष लगायत सदस्यहरुले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने लगायत व्यक्तिगत घट्ना दर्ता गर्दा जरिवाना नदिई निशुल्क गर्ने घोषणा गरेका छन ।
धनकुटा नगरपालिकाको वडा नम्वर तीनमा पनि व्यक्तिगत घट्ना दर्ता गर्दा जरिवाना नलिने र नागरिक्ता सिफारिस निशुल्क गर्ने र यूवाहरुलाई स्वरोगार बनाउन विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय भएको जनाईएको छ ।
धनकुटाको पाख्रिवास नगरपालिकामा मेयरमा ज्ञान वहादुर गुरुङ सहित ५ जना वडाध्यक्ष, महालक्ष्मी नगरपालिकामा मेयर ध्रुवराज राया सहित ५ जना वडाध्यक्ष, साँगुरीगढी गाउपालिकामा अध्यक्ष जितेन्द्र राई सहित ४ जना वडाध्यक्षहरु र छथरजोरपाटी गाउँपालिकामा अध्यक्ष छत्र वहादुर सुब्बा र उपाध्यक्ष गिता खेवा गुरुङ्ग सहित ४ जना वडाध्यक्षहरु, चौविसे गाउँपालिकामा ४ जना वडाध्यक्ष, सहिदभूमी गाउँपालिकामा ३ जना वडाध्यक्षहरु र धनकुटा नगरपालिकामा ५ जना वडाध्यक्ष गरी कुल ३० वटा वडामा गठबन्धनले जितेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।




















