धनकुटा । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र पाख्रिबासमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्था सँग परिचित गराउदै स्वागत, सम्मान, शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा धनकुटा जिल्लामा रहेका सात स्थानीय तह मध्येको एक स्थानीय तह पाख्रिबास नगरपालिका नगरप्रमुख ज्ञान बहादुर गुरुङ, उपप्रमुख नम्रता गौतम देउजा, वडा नम्वर चार, तीन र आठ नम्वर वडा अध्यक्ष गरी तीनवटा वडाका अध्यक्ष सहितको टिमलाई स्वागत सम्मान गरेको ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र धनकुटाका प्रमुख ब्रह्माकुमारी निर्मला दिदिले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा दुरव्यसन मुक्ति तथा सकारात्मक उर्जा विकासको लागि वडाले समन्वय गरि वडावासिहरूको क्षमता विकास तथा मानवीय मूल्य र मान्यतालाई उजागर गर्न केन्द्रसँग सहकार्य गर्ने वडा अध्यक्षहरूले प्रतिवद्दता जनाउनु भयो ।
तनावले भरिएको दुनियामा हामी हरेकको जीवन अस्तव्यस्त छ । तनावपुर्ण जिवनबाट मुक्ति पाउन शान्ति, खुसि, आनन्दको प्राप्ति तथा जिवनको मुल्यलाई बुझ्न आध्यात्मिक शिक्षा र सकारात्मक सोचको खाँचो रहेकोले उक्त खाँचो पुर्तिकालागि ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रले मानवीय मुल्यको विकास तथा चरित्र उत्थानमा मह्त्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।
उक्त कार्यक्रममा बोल्नु हुदै मानवीय मुल्यको विकास तथा चरित्र उत्थानमा मह्त्वपुर्ण भुमिका निर्वाह गर्ने यस्तो सामाजिक संस्थाको आफ्नो भवन नभएकाले पाख्रिबास नगरपालिकाको सहकार्यमा जग्गा र भवन उपलब्ध गराउन पहल गर्ने र हरेक नगरका कार्यक्रममा बह्मा कुमारी राजयोग उपसेवा केन्द्रलाई साथैमा राख्ने नगर प्रमुख गुरुङ र उपप्रमुख देउजाले प्रतिबद्धता जनाउनु भएको छ ।
उपसेवा केन्द्रमा तत्काल आवश्यक फर्निचर लगायतका सामाग्री नगरपालिका र वडाको सहयोगमा उपलब्ध गराउने जनाईएको छ ।




















