इटहरी । विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई पटक-पटक बलात्कार गरेको आरोप लागेका इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालिन प्रिन्सिपल राज खड्का पक्राउ परेका छन् । सात वर्षअघि १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका खड्का काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।

लुकिछिपी बस्दै आएका ३६ बर्षीय खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टिमले पक्राउ गरेको हो । उनलाई आजै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अदालत उपस्थित गराइनेको प्रहरीले जनाएको छ ।

खड्का विरुद्ध छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिइएकी थिइन । प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का भने फरार थिए । उनी विरुद्धको मुद्दा हाल मुल्तबीमा रहेको कारण उनलाई आजै सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।

खड्का हाल काठमाडौँको नेपालटारमा रहेको सिद्धार्थ ईंङलीस बोडिङ स्कुलमा प्रिन्सिपलकै रुपमा कार्यरत थिए । पीडित युवतीले सामाजिक सञ्जालमा उनी विरुद्ध पोष्ट गरेपछि त्यहाँबाट खड्का फरार थिए । यूवतीले सामाजिक सञ्जालमा पोष्ट गरे अनुसार खड्काले २०७२।७३ मा उनीमाथि पटक पटक यौन शोषण गरेका थिए । उनले खड्काको तस्बिरसमेत सार्वजनिक गरेकी थिइन् ।

यस्तै खड्काले उपचार गराउने बाहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको पीडित युवतीको दाबी छ । उनले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको बताइएको छ ।