मोरङ । स्थानीय तह निर्वाचन नजिकिएसँगै मोरङका केही पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्षहरूले आफूले उपयोग गर्दै आएका सुविधाका गाडी फिर्ता गर्न थालेका छन ।
मोरङका २ पालिका प्रमुखले सुविधाका गाडी फिर्ता गरेका छन । जसमा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो र लेटाङ नगरपालिका प्रमुखले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका हुन ।
उर्लाबारी नगरपालिकामा मेयर सहित वडा नम्वर २,३ र ७ का वडाअध्यक्षले चैत र बैशाखको पारिश्रमिक नलिने घोषणा सहित गाडी फिर्ता गरेका छन । उर्लाबारी नगरपालिका प्रमुख फागोले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई नै फिर्ता गरेका छन्
कांग्रेसबाट मेयरमा निर्वाचित भएका फागोले एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमत कार्यपालिका सदस्यले विकासका योजना अघि बढाउन नदिएपछि नैतिक रूपमा अप्ठेरो परेकाले गाडी फिर्ताको निणर्य लिएको बताए ।
उनले चैत र वैशाख महिनाको तलब भत्ता लगायतका सुविधासमेत नलिने बताएका छन । गत स्थानीय तह निर्वाचन ०७४ मा फागोले ११ हजार ६ सय ३२ मत ल्याएर कांग्रेसबाट निर्वाचित भएका थिए ।
गत स्थानिय निर्वाचनमा एमालेबाट ९ हजार ५ सय ३९ मत ल्याएर विजयी भएकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी चढ्ने को १ झ ५०० नम्वरको गाडीसहित वडा नम्वर-८ का अध्यक्ष कुलबहादुर कार्की, वडा नम्वर-४ का अध्यक्ष लक्ष्मीनाराएण धिमाल र वडा नम्वर-९ का अध्यक्ष बव फियाकले सावरी साधन फिर्ता गरेका छैनन् ।
यो त एउटा उदाहरण मात्रै हो । जिल्लाका धैरै स्थानियतहमा सुविधाका गाडी फिर्ता गरिएका छैनन । अहिले तिनै जनप्रतिनिधिहरु पार्टीका भेला र छलफलमा व्यस्त हुँदासमेत सरकारी गाडी चढ्ने गरेको देखिन्छ ।
लेटाङ नगरपालिका प्रमुख शकर राईले गाडी फिर्ता गरेका छन् । सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको र आफू पार्टीको काममा खटिनुपर्ने भएकाले निर्वाचनमा सरकारी सवारी साधनको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको लेटाङ नगरपालिकाका मेयर राईले बताए । उनी नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिसमेत हुन् ।
राई सगै लेटाङ वडा नम्वर-८ का अध्यक्ष भिम पोख्रेल, वडा नम्वर ६ का अध्यक्ष जङग तामाङ, ३ का अध्यक्ष देवराज चाम्लीङ र वडा नम्वर-४ का अध्यक्ष सन्तोष कार्की सहित अन्य वडाध्यक्षले आफुले प्रयोग गर्दै आएको सवारी साधन नगरपालिकालाई फिर्ता गरेका छन् भने नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले फिर्ता नगरेको लेटाङ नगरपालिका प्रेस संयोजक प्रशान्त निरौलाले जानकारी दिए ।
यस्तै मोरङका अन्य स्थानियतह विराटनगर महानगरपालिका रतुवामाई नगरपालिका, पथरीशनिस्चरे नगरपालिकाका, शुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, कटहरी गाउपालिका, जहदा गाँउपालिका, कानेपोखरी गाँउपालिका, मिक्लाजुङ गाँउपालिका, ग्रामथान गाँउपालिका, बुढीगंगा गाउँपालिका, धनपालथान गाउँपालिका, केराबारी गाँउपालिकाका प्रमुख र उपप्रमुखले सरकारी सुविधाको गाडी फिर्ता गरेका छैनन् ।
स्रोतका अनुसार आसन्न स्थानियतहको निर्वाचनमा विराटनगरबाट मेयर भिम पराजुली, शुन्दरहरैचाबाट मेयर शिवप्रासाद ढकाल, बेलबारीबाट मेयर ज्ञनेन्द्र सुवेदी, रंगेलीबाट दिलिप बगडिया, सुनवर्षीबाट कालिप्रसाद दास, पथरीशनिश्चरेबाट मेयर दिलिप कुमार राई, रतुवामाईबाट मेयर रविन राई, केराबारीबाट अध्यक्ष रोहित कार्की, कानेपोखरीबाट अध्यक्ष ताराबहादुर काफ्ले, मिक्लाजुङबाट देवीप्रसाद आर्चाय टिकट ल्याउने दौडमा रहेता पनि उनिहरुले सरकारी गाडी फिर्ता गरेका छैनन् ।
२०७४ को स्थानियतहमा उपप्रमुखमा निर्वाचित उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, पथरीशनिश्चरेकी यमुना विष्ट वास्तोला, लेटाङ नगरपालिकाकी कृष्ण कुमारी निरौला, मिक्लाजुङ गाउँपालिकाकी सरला राई आउदो स्थानियतहको निर्वाचनमा महिलालाई प्राथमिकता दिनुपर्ने माग राख्दै मेयरको टिकट ल्याउने दौडमा होमिएका छन् तर सरकारी गाडीको प्रयोग भने गरीररहेका छन् ।
निर्वाचनको आचारसंहिता लागू भइसकेपछि जनप्रतिनिधिहरुले पार्टीको कार्यक्रममा सरकारी गाडीको प्रयोग गर्न नपाईने व्यावस्था भएपनि नगरपालिकाको एउटा कार्यक्रममा गएर उतै बाट चुनावी प्रचार र टिकट लागि ताकेता भ्याएर फर्किने चलन स्थानियतहका जनप्रतिनिधिमा रहेको छ ।
सरकारी गाडीको दुरुपयोग सम्बन्धित चेकजाच गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको मातहतमा भएतापनि आचारसंहिता उल्लंघन गर्नेहरुमाथी अहिले सम्म कार्वाही भएको छैन् ।




















