रामधुनी : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सुनसरीको रामधुनी नगरपालिका–८, बानडाँडामा बाढीपीडितका लागि नयाँ घर बनाइदिएको छ ।
२०७४ सालमा आएको बाढीपहिरोबाट विस्थापित २५ परिवारलाई प्याब्सनले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो ।
२०७६ सालदेखि घर निर्माण थालिएको थियो । वस्तीमा तीन कोठाको घर र एउटा शौचालय निर्माण गरिएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले डेढ करोडको लागतमा घर निर्माण गरिएको बताए ।
२०७४ सालमा आएको बाढीपहिरोमा परेकाहरूलाई सहयोग गर्ने भनेर केही आर्थिक संकलन गरे पनि वितरण गर्न ढिलो भएपछि वस्ती निर्माण गरिएको उनको भनाइ छ । सो वस्तीको २०७६ वैशाख २९ गते तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरेका थिए ।
२४ वटा घर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । एउटा भने रञ्जित चौधरीलाई हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ । केही घरहरूको झ्याल ढोकालगायत निर्माणका काम बाँकी रहेकाले सो सकेर बाढीपीडितलाई हस्तान्तरण गर्ने गरी नगरपालिकालाई हस्तान्तरण गरिएको प्याब्सनको भनाइ छ ।
प्याब्सनको महाधिवेशन यही साता तय भएकाले हतार गरेर घरहरू हस्तान्तरण गरिएको हो । नगरपालिकाले ती घरहरू केही दिनभित्रमै पीडितहरूलाई हस्तान्तरण गर्ने जनाएको छ ।




















