उर्लाबारी । मोरङको उर्लाबारीमा मंगलबार १ सय १२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ जना श्रमिक महिलालाई सम्मान गरी मनाइएको छ ।
उर्लाबारीका महिलासँग सम्बन्धित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा उर्लाबारी बहुमुखी क्याम्पसको सभाहलमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता र उपप्रमुख लक्ष्मीदेवी भण्डारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा दैनिक श्रम गरेर जीविकोपार्जन गर्दै आएका उर्लाबारीका तुला मल्लिक, सरिता ऋषिदेव, रामकुमारी विक, कुमारी महते, सावित्रा पौडेल, डबल राजवंशी, चन्दिका राजवंशी र सविता विकलाई जनही ७ सय रुपैयाँसहित सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै मेयर फागोले महिला शशक्तिकरण र महिलालाई आत्मनिर्भ बनाउने कुरामा स्थानिय सरकारले स्रोतसाधनले भ्याएसम्म योजना बनाएर कार्य गर्ने बताए ।
अन्तरपार्टी महिला सञ्जाल, ध्रुवतारा फेडेरेसन, नारी संकल्प सहकारी, नारी सृजना कृषि सहकारी, महिला उत्थान मञ्च, मानव अधिकारका लागि एकल महिला, नारी जागरण केन्द्र, निरु ढाका कपडा उद्योग, कुरीति अन्त्य समाज, उर्लाबारी बहुमुखी क्याम्पस, नारी विकास संघ र महिला उत्थान साकोसको संयुक्त आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो ।
अन्तरपार्टी महिला सञ्जाल उर्लाबारीकी अध्यक्ष गीता खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा महिला अधिकारकर्मी शोभा चेम्जोङ पालुङवाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने महिला उत्थान साकोसकी अध्यक्ष सर्सु गुरुङले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमका बक्ताहरुले महिला अधिकारका विषयमा चर्चा गरेका थिए । सो अवसरमा प्रमुख अतिथि फागो, विशिष्ट अतिथि भण्डारीसहित नेपाली काँग्रेसका नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा एमालेका नगर उपसचिव भरतमणि गौतम, नेकपा एस नगर अध्यक्ष डिवी थापा, नारी संकल्प साकोसकी अध्यक्ष सीता कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।




















