सुनसरी । प्राचिन हरिद्धारको रुपमा रहेको सुनसरीको चतराधाममा पहिलो पटक हिन्दु धर्म अनुसार विशेष पुजा मानिने रामार्चन पुजाको आयोजना गरिएको छ । जगतगुरु रामानन्दचार्य सेवा पिठ चतराधामले तीन दिवशीय विशेष धार्मिक कार्यक्रमको आयोजनासंगै बुधबार रार्माचन पुजाको आयोजना गरेको हो ।
हिन्दु भक्तजनहरुले पुजा गर्दै आएका तेत्तिस कोटी देबी देबताहरुलाइ एउटै देवसभामा उपस्थित गराएर रामार्चन पुजामार्फत सबै देवदेबताहरुको विशेष अर्चना गर्ने गरिन्छ ।
जगतगुरु रामानन्दचार्य सेवा पिठका पिठाधिस जगतगुरु महायोगीको जन्मोत्सवको समेत अवसर पारेर आयोजना गरिएको रार्माचन पुजामा सहभागी हुन भारतको राजस्थानस्थित सीयाराम बगैचा पीठका पिठाधिश हरिशंकर दास बेदान्ती महाराज लगायत विभिन्न सन्तमहन्तहरुको विशेष उपस्थिति रहेको छ ।
यसका अतिरिक्त रामार्चन पुजामा सहभागी हुन नेपालका विभिन्न ठाउँका साथै अमेरिका, क्यानडा , युरोप लगायतबाट समेत भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ ।
जगतगुरु रामानन्दचार्य सेवा पिठ चतराले यस अघि तारकबह्म महायज्ञ, हिमालयन सिद्धमहायोग लगायत बृहद किसिमका विभिन्न धार्मिक अनुष्ठानहरुको आयोजना गरिसकेको छ ।
पिठको सक्रियतामा आयोजित विभिन्न धार्मिक तथा सामाजिक गतिविधिहरुको सफल सञ्चालनसंगै चतरा, बराहक्षेत्र लगायत आसपासको क्षेत्रको धार्मिक, सामाजिक र पूर्वाधार विकास अभियानले समेत फड्को मार्दै आएको छ । पिठको सक्रियतामा चतराधाममा एक अर्ब रुपयाँको लागतका भव्य राम मन्दिर निर्माण गरिने बताइएको छ ।




















