इटहरी । फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने लक्ष्य सहित सुनसरीको इटहरीमा निर्माण भई रहेको फोहोर प्रशोधन केन्द्रलाई डाइजेष्टर भर्न चाहिने गाईवस्तुको गोवर सहज रुपमा नपाउदा समस्या भईरहेको छ ।
कुहिने फोहोरबाट बायोग्यास तथा प्रागारिक मल उत्पादनका लागि प्रयोग गरिने डाइजेष्टर भर्न पहिलो पटक ७० प्रतिशत गोबर चाहिने भएपनि सहज रुपमा इटहरीमा गोबर नपाउदा समस्या भईरहेको केन्द्रले जनाएको हो ।
इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा प्रवन्धन केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विचको सम्झौता अनुसार फोहोर प्रशोधनका लागि काम गर्दै आएको वेस्ट एण्ड इनभारो मेनेजमेन्टका प्रवन्ध सञ्चालक मानध्वज मोक्तानले डाइजेष्टर भर्न गोबर सहज रुपमा नपाईरहेको गुनासो गरेका हुन । प्रवन्ध सञ्चालक मोक्तानले डाइजेष्टरका लागि आवश्यक पर्ने गोबर इटहरी क्षेत्रबाट मात्र संकलन गरेर नपुग्ने भएका कारण आसपासका क्षेत्रबाट समेत संकलन गरे भर्ने काम भईरहेकाले चाडै नै फोहोर प्रशोधन गरि बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने कार्य सुरु हुने समेत वताए । डाजेष्टर भरिएर बायोग्यास तथा प्रागारिक मल उत्पादन गर्न सुरु गरेपनि इटहरी क्षेत्रबाट संकलन हुने फोहोरबाट लक्ष्य अनुसार ग्यास र मल उत्पादन गर्न सकिने अवस्था नरहेको समेत मोक्तानले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा प्रवन्धन केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विच इटहरी क्षेत्रबाट संकलन गरिएको फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्ने सम्झौता २०७५सालमा भएपनि कोरोना कहर तथा विभिन्न कारणले समयमै काम नसक्दा ढिलो भएको उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरी वताउछन । उनले सञ्चालनको जिम्मेवारी पाएको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिले दिएको जानकारी अनुसार यही फागुन महिनाको अन्त सम्ममा केन्द्र सञ्चालनमा आउने जानकारी गराए ।
नगरपालिकाले समेत सहयोग नगर्दा साथै कोरोना कहर लगायतका कारणले गर्दा पनि आफुहरुले समयमा काम गर्न नसकेको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिका सञ्चालक देवेन्द्र कुमार सुब्बा वताउछन । उनले काम ढिलो भएपनि अन्तिम चरणका रहेकाले चाडै नै सञ्चालनमा तयारी भई रहेको जानकारी दिए ।
प्रशोधन केन्द्र सञ्चालनको जिम्मेवारी पाएको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिले कुहिने फोहोरबाट बायोग्यास तथा प्रागारिक मल उत्पादन गर्ने तथा नकुहिने तर पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुन प्रयोगमा ल्याउने गरि काम अघि वढाएको समेत जनाइएको छ । प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि प्रत्येक दिन ३० टन कुहिने फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रागारिक मल उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।




















