इटहरी । नौमति र पञ्चे बाजा संरक्षणमा जुटेका बाह्मण क्षेत्री लगायतका इटहरीका महिला अहिले व्यवसायिक रुपमै नौमति र पञ्चे बाजा बजाउन थालेका छन ।
कुनै एक जातिले मात्र बजाउने भनेर परिचित नौमति र पञ्चे बाजा लोपोन्मुख बन्दै गएका मध्यनजर गर्दै संरक्षणका लागि बजाउन सिकेका इटहरी बाह्मण क्षेत्री लगायतका महिलाहरुको अहिले आम्दानी स्रोत समेत नौमति र पञ्चे बाजा वन्न थालेको हो ।
कोरोना कहरका कारण लकडाउन भएको समयमा केही महिलाहरु मिलेर नौमति र पञ्चे बाजा लोप हुदै गएको तथा व्रतमन्न विवाह पुराण लगायतमा शुभ साइतका लागि बजाउने मानिसहरु पाउन छोडेको तर्फ केन्द्रीत भएर बाजा संरक्षणका लागि सिकेको नौमति पञ्चे बाजा महिला समुह इटहरीकी संयोजक तारादेवी निरौला न्यौपाने वताउछिन । उनले एक हप्ता सिकेपछि बजाउन सकिन्छ भन्ने लागेर निरन्तरता दिएको समेत जानकारी दिइन ।
क्षेत्री बाहुनले त्यसमा पनि महिलाहरुले छुन समेत हुदैन भन्ने मान्यतालाई चिर्न सुरुसुरुमा समस्या भएपनि अहिले आएर आफुहरुले नौमति र पञ्चे बाजा बजाएको देख्नेहरु वाह गर्न थालेको समुहकी अर्की सदस्य शशि निरौला दाहाल वताउछिन । बाजा संरक्षण र केही आम्दानी समेत गर्न सकिन्छ भनेर सिकेको भएपनि अहिले आएर धेरै तिर बोलाउन थालेको समेत दाहालले जानकारी दिइन ।
इटहरी तथा आसपासका क्षेत्रमा विवाह व्रतमन्न पुराण लगायतका शुभ साइतको लागि नौमति पञ्चे बाजा बजाउने कामका लागि पछिल्लो नौमति पञ्चे बाजा महिला समुहलाई नै सझन थालिएको छ । आफनो संस्कृति जोगाउन जुटेका महिला समुहलाई प्रोत्साहन गर्न आफुले पनि महिला समुहको पञ्चे बाजाका लागि अनुरोध गरेर पुराणको शोभा यात्रामा बोलाएको इटहरी निवासी व्यवसायी शिवप्रसाद घिमीरे वताउछन ।
नौमति पञ्चे बाजा महिला समुहमा २५ जना महिलाहरु आवद्ध रहेका छन । यसरी महिलाहरु संगठित भएर लोपन्मुख बन्दै गरेको बाजा संरक्षणमा जुटेर अन्य लोपन्मुख बन्दै आएको नेपाली कला ,संस्कृति संरक्षणमा जुट्न संदेश समेत इटहरीका महिलाहरुले दिएका छन ।




















