धनकुटा  । नमूना बिद्यालय सन्चालनका लागि जिल्ला स्थित सरस्वती मा.बि.मा नमूना बिद्यालय भवन सहित ईन्डोर खेलका लागि फूटसल र आईसिटी ल्यावको भवन  शिलान्यास गरिएको छ ।

छथर जोरपाटी गाउँपालिकाको सिंधुवा स्थित उक्त बिद्यालयमा निर्मित ६ कोठे भवन, फुटसल र ल्यावको संघिय सांसद राजेन्द्र कुमार राईले शिलान्यास  गर्नुभएको हो ।

नेपाल सरकारको नमूना बिद्यालय बिकास कार्यक्रम अन्तर्गत संघिय सरकारको २ करोड ५४ लाख रुपैयाँको नमूना बिद्यालय भवन बन्न लागेको हो ।

आर्थिक बर्ष २०७७÷७८ बाट शुरु भई उक्त भवन बहुबर्षिय योजना अन्तर्गत ३ बर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुने बिद्यालयका प्रधानाध्यापक केदार प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको २५ लाख लागतमा आईसिटी कम्प्युटर ल्याव कक्षा स्थापना गरिएको छ ।

छथर जोरपाटी गाउँपालिकाको बिशेष पहलमा पालिकाको २६ लाख र संघिय सरकारको ४० लाख गरी ६६ लाखको लागतमा बन्न लागेको उक्त फुटसल भवन प्रदेशकै पहिलो हुने प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।

बिद्यालय भवन तथा आयोजनाहरुबाट बिद्यालयमा अध्ययनरत ८ सय बिद्यार्थीहरु लाभान्वित हुने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज थापाले जानकारी दिनुभयो ।