इटहरी । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सम्मान, समानता र समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले सुनसरीको इटहरीमा प्राइड परेड आयोजना गरिएको छ।
प्राइड मन्थ–२०२६ को अवसरमा मितिनी नेपाल इटहरीको आयोजनामा बिहीबार इटहरीको बीपी चोक हुँदै होलसेल लाइन क्षेत्रमा ‘ह्याप्पी प्राइड मन्थ–२०२६ : वी स्ट्यान्ड टुगेदर’ नारासहित प्राइड परेड सम्पन्न गरिएको हो।
परेडमा सहभागीहरूले इन्द्रेणी झण्डा, ट्रान्सजेन्डर समुदायको झण्डा तथा विभिन्न सन्देशमूलक प्लेकार्ड प्रदर्शन गर्दै लैङ्गिक विविधता, मानव अधिकार र समान अवसरको पक्षमा आवाज उठाएका थिए। “I am proud to be transgender” लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेर सहभागीहरूले समाजमा विद्यमान विभेद, पूर्वाग्रह तथा हिंसाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाको सामाजिक विकास शाखाकी विपना कुमारी बास्तोला र नवराज कोइरालाको सहभागिता रहेको थियो। परेडलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले सहजीकरण गरेको थियो।
त्यसैगरी महिला सहयोगी समूह इटहरीकी कार्यकारी निर्देशक बिमला मल्ल ठकुरी, मानव कल्याण समाज इटहरीका प्रमुख देवनारायण चौधरी, समुदायका सदस्य, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
आयोजक संस्था मितिनी नेपालका अनुसार प्राइड परेडको उद्देश्य लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान, अस्तित्व र अधिकारप्रति समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्नुका साथै समावेशी समाज निर्माणमा योगदान पुर्याउनु हो।
सहभागीहरूले नेपालको संविधानले सुनिश्चित गरेको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्ने माग गर्दै लैङ्गिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा कुनै पनि प्रकारको विभेद नगर्न सबैलाई आग्रह गरेका थिए।
इटहरीमा पहिलोपटक आयोजित यस प्राइड परेडलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, पहिचान र सामाजिक स्वीकार्यता प्रवर्द्धनका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




















