इटहरी । गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति इटहरी–१, १९ र २० तरहरा को संयुक्त आयोजनामा गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।
गुरुङ समुदायले पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा मनाउँदै आएको तमु ल्होसार पर्वको अवसरमा आयोजित कार्यक्रममा समुदायको मौलिक पहिचान झल्किने विविध कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा गुरुङ समुदायको परम्परागत सांस्कृतिक नृत्य, झाँकी तथा धार्मिक विधिहरूले विशेष आकर्षण थपेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ रहेका थिए । कार्यक्रम गुरुङ बौद्ध गुम्बा तमु सेवा समितिका अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
ल्होसार विशेष कार्यक्रममा उच्च शिक्षा हासिल गरेका गुरुङ समुदायका चार जना विद्यार्थीलाई खादा, माला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । यसले समुदायभित्र शैक्षिक चेतना अभिवृद्धि गर्न सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् । 
कार्यक्रममा बोल्दै गुरुङ बौद्ध गुम्बा तमु युवा सेवा समितिका अध्यक्ष, कार्यक्रम संयोजक तथा इटहरी–२० का वडा सदस्य तनुज गुरुङ (सुरेश) ले युवाहरूले आफ्नो संस्कार, संस्कृति र पहिचान बुझ्न तथा संरक्षण गर्न विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।उनले, गुरुङ समुदायको मौलिक पहिचान जोगाउन यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गरिने प्रतिबद्धता पनि व्यक्त गरे । 
त्यस्तै, प्रमुख अतिथि वडा अध्यक्ष मणिराम श्रेष्ठले तरहरामा गुरुङ समुदाय एक महत्वपूर्ण र ऐतिहासिक जातीय समुदायको रूपमा रहेको उल्लेख गर्दै वडा कार्यालयबाट आगामी दिनमा पनि आवश्यक आर्थिक तथा संस्थागत सहयोग निरन्तर रूपमा प्रदान गरिने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत तरहरा शुभ स्वास्थ्य सामुदायिक केन्द्र तथा अनुप्रित मेडिकल हल तरहराको सहकार्यमा निःशुल्क सुगर र प्रेसर जाँच शिविर सञ्चालन गरिएको थियो । शिविरबाट एक सयभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिई लाभान्वित भएका थिए ।
यस्तै, कलाकार सुपर सुरेश (कार्की) ले विशेष सांकेतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शक तथा सहभागीहरूको मन जित्न सफल भएका थिए ।
कार्यक्रममा विभिन्न गुम्बा समुदायका प्रतिनिधि, स्थानीय अगुवा, बुद्धिजीवी तथा गुरुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम सौहार्द, आपसी एकता र सांस्कृतिक चेतनाले भरिएको वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
यस्तै, इटहरीसहित देशभर रहेका गुरुङ समुदायले तमु ल्होसार पर्व विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरी हर्षोल्लासपूर्वक मनाएका छन् ।




















