इटहरी, श्रावण २७ — श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) इटहरीले तीन दिन लामो विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही श्रावण २९, ३० र ३१ गते इटहरी उपमहानगरपालिका–६ स्थित रिजाल भिजन पार्टी प्यालेस, हटिया लाइनमा हुने बताइएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर वानियाले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार, महोत्सवको पहिलो दुई दिन वैदिक ग्रन्थ तथा चित्रकला प्रदर्शनी, विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता, र शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

श्रीकृष्ण जन्माष्टमीका दिन अर्थात् श्रावण ३१ गते भने प्रमुख धार्मिक कार्यक्रमहरू सम्पन्न हुनेछन्। जसमा कृष्ण कथा वाचन, भजन–कीर्तन, महाआरती, दीप अर्पण, भगवान श्रीकृष्णको अभिषेक, महाप्रसाद वितरण लगायतका विधिवत् पूजाआर्चना हुनेछन्। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय भक्तजनहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा वानियाले भने, “इस्कोन इटहरी विगत आठ वर्षदेखि निरन्तर धार्मिक, सांस्कृतिक र सामाजिक कार्यमा सक्रिय छ। यस वर्षको जन्माष्टमी महोत्सवलाई अझ भव्य बनाउन हामीले तयारीलाई अन्तिम रूप दिएका छौं।”

यसैगरी, महोत्सवको अन्तिम दिन अर्थात् जन्माष्टमीको भोलिपल्ट राधाकृष्णको भव्य रथयात्रा निकालिने छ। रथयात्रा शिव मन्दिर, राधाकृष्ण मन्दिरदेखि सुरु भई इटहरीका विभिन्न सडक परिक्रमा गर्दै पुनः मन्दिरमै समापन गरिनेछ। आयोजकका अनुसार, रथयात्रामा ठूलो संख्यामा भक्तजनहरूको उपस्थितिको अपेक्षा गरिएको छ।

इस्कोन इटहरीले यसअघि पनि यस्ता धार्मिक कार्यक्रमहरू मार्फत समाजमा नैतिक मूल्य, आस्थाको संरक्षण र युवा पुस्तालाई सांस्कृतिक चेतना जगाउने प्रयास गर्दै आएको छ।