इटहरी । डिभिजन वन कार्यालय सुनसरीले नियन्त्रणमा लिएका सवारी तथा चालकहरुलाई विना शर्त रिहाई गर्न इटहरी उपमहानगरपालिका कार्यपालिकाको वैठकले माग गरेको छ ।
इटहरी उपमहानगरपालिकाको भुगोलमा रहेको सामुदायिक वन क्षेत्रबाट बग्ने बुढी खोलाबाट नगरक्षेत्रका बाटाहरु मर्मतका लागि मिक्सगिटी ल्याउने क्रममा वन कार्यालयले पाँच वटा सवारी साधन र चालक नियन्त्रणमा लिएको भन्दै विना र्शत रिहाईको माग गरेको हो ।
नगरका वडाहरुमा वर्षायाममा हुने विपद तथा बाढीको जोखिम न्युनिकरणका लागि सडक तथा वाटा मर्मतका लागि मिक्स गिटी ल्याईरहेका सवारी र चालक नियन्त्रण गर्ने कार्य नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन विपरित रहेको भन्दै कार्यपालिकाले वन कार्यालयलाई सवारी र चालक विना शर्त रिहाई गरी सहयोग गर्न आग्रह गरिएको छ । उपमहानगरपालिका कार्यबाहक नगरप्रमुख दिवश पोखरेलले कार्यपालिका वैठकमा नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गरिए जानकारी गराए ।
कार्यपालिका वैठकमा सहभागी अन्य सदस्यहरुले पनि उपमहानगरपालिकाले नीति नियम भित्र रहेर मिक्स गिटी ल्याएको अवस्थामा उपमहानगरपालिकाको व्यानर टाँगिएका सवारी साधन नियन्त्रणमा लिने कार्य दुखद भएको भन्दै सवारी र चालकलाई विना शर्त रिहाई गरी सहयोग गर्न वन कार्यालयलाई आग्रह गरेका छन ।
वन जंगल क्षेत्रका विषयमा यदाकता स्थानीय सरकार र वन कार्यालयहरु विच मतान्तर रहदै आएको पाइन्छ ।




















