विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठकमा राप्रपाले प्रदेश खारेजीको माग उठाएको छ । प्रदेश सभामा पहिलो सम्बोधनमा राप्रपाका सांसद अम्बरबहादुर विष्टले मुलकले तीन तहको संरचना धान्न नसक्ने बताउँदै खारेजीको माग गरे ।
आफूहरु संघीयताको विरोधी नभएको तर तीन तहको सरकार मुलुकले धान्न सक्दैन कि भनेर सुरुदेखि नै आवाज उठाउँदै आएको स्मरण गर्दै उनले भने, ‘अहिले देशको आर्थिक अवस्था डामाडोल भएको छ, २० खर्ब भन्दा बढी ऋणको भार देशमा थुप्रिएको छ भनेर देख्छौं, यो अवस्था हेर्दा प्रदेश राखिराख्नु उपयुक्त हुन्छ कि खारेज गर्दा उपयुक्त हुन्छ भन्ने आज छलफलको विषय छ ।’ संघीयतालाई टिकाउनका लागि भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको बाटोमा जानुपर्ने उनको भनाइ छ ।
राप्रपा सांसद विष्टले प्रदेश खारेजीको माग गरे पनि अरु दलका नेताले भने प्रदेशलाई अझै बलियो बनाउनु पर्ने बताए । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक संरचना स्थापित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । प्रदेशलाई प्रभावकारी बनाउन प्रदेश सरकारले काम गर्ने उनले बताए । प्रदेश चाहिने र नचाहिने दुवै पक्ष रहेको बताउँदै उनले प्रदेशको समीक्षा गर्न तयार भए पनि खारेज गर्ने विषयमा पुग्न नसक्ने बताए ।




















