विराटनगर । प्रदेश १ को नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ ।  मुख्यमन्त्री हिक्मत कार्की र अन्य ३ मन्त्रीले पद भार ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालय घटाउने पहिलो निर्णय गरेको हो ।

पहिलो पटक शेरधन राई नेतृत्वको सरका बन्दा प्रदेश १ मा सात वटा मन्त्रालय थियो । एमालेको सरकार हटेसँगै राजेन्द्र राई नेतृत्वको सरकारमा प्रदेश १ मा मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको थियो । 

  मन्त्रालय संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय, मन्त्रालय र मन्त्री धेरै भएको भन्दै आलोचना भइरहँदा नव निर्वाचित मन्त्री भक्ती सिटौलााले मन्त्रालयको संख्या घटाएर मितव्ययी प्रदेश सरकार बनाउने बताउनु भयो ।  मन्त्रालय र मन्त्रीहरु धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर नौ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको मन्त्री  सिटौलाले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरि मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय गरेको हो ।