काठमाडौं । नयाँ संविधानबमोजिम दोस्रो स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । २०७४ सालमा पहिलो चरणको स्थानीय निर्वाचन भएकै मितिमा सरकारले नयाँ निर्वाचन गर्ने घोषणा गरेको छ ।५ वर्षअघि र अहिलेको राजनीतिक परिस्थितिमा बदलाव आइसकेको छ । यद्यपि त्यतिबेलाको मतपरिणाम र राजनीतिक दलहरुले आर्जन गरेको शक्तिका आधारमा आगामी अवस्थाको आँकलन गर्न सकिन्छ ।
तीन चरणमा सम्पन्न अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा थिए । तत्कालीन सत्ता साझेदार दलका हिसाबमा कांग्रेस र माओवादीले १ सय भन्दा बढी स्थानीय तहमा चुनावी तालमेल गरेका थिए । केही स्थानीय तहमा एमाले-माओवादी सहकार्य पनि भएको थियो ।संयोग नै मान्नुपर्छ ५ वर्षपछि स्थानीय चुनाव हुँदै गर्दा पनि कांग्रेस र माओवादी गठबन्धन सरकार थियो । पहिलो चरणको चुनाव प्रचण्ड प्रधानमन्त्री भएर गराएका थिए भने दोस्रो र तेस्रो चरणको चुनाव शेरवहादुर देउवाले गराएका थिए ।
अघिल्लो स्थानीय तहको निर्वाचनको परिणाममा एमाले मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा पहिलो पार्टी बनेको थियो । एमालेले गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुख गरेर २ सय ९४ स्थानीय तहको नेतृत्व जितेको थियो । गाउँपालिका उपाध्यक्ष र नगर उपप्रमुखमा एमालेका ३ सय ३३ जना निर्वाचित भएका थिए ।
एमालेले २ हजार ५ सय ६० वडामा अध्यक्ष जितेको थियो भने एमालेबाट १० हजार ९ सय १५ जना वडा सदस्य निर्वाचित भएका थिए । यस हिसाबले एमालेले स्थानीय तहमा १४ हजार १ सय जनप्रतिनिधि जितेको थियो ।आगामी स्थानीय निर्वाचनमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल भएमा एमालेलाई अप्ठ्यारो पर्नेछ ।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा स्थानीय तहदेखि नै तालमेलको पक्षमा छन् । तर कांग्रेसलाई सबै ठाउँमा तालमेल नगर्न आफ्नै पार्टीभत्र दबाब छ ।
स्थानीय चुनावको ५ वर्षका बीचमा जनमतमा धेरै नभए पनि मात्रात्मक फेरबदल आइसकेको छ । जनप्रतिनिधिका कामका कारण पनि दलहरुको मत तलमाथि हुनसक्छ । गठबन्धन नहुँदा कांग्रेस र एमालेबीच पहिलो बन्ने प्रतिस्पर्धा हुने निश्चित छ ।



















