लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला यतिबेला समय मिलाएरै नगरका माध्यमिक तहका विद्यालयका छात्राहरुलाई भेट्न पुग्छिन् ।
उनी यसरी छात्राहरुलाई भेट्ने मात्र होइन उनीहरुसँग अन्तरकृया समेत गर्छिन् । उनी विद्यालय विद्यालय पुगेर छात्राहरुलाई भेट्न जाँदा उनीसँग नगरको शिक्षा शाखा र महिला तथा बालबालिका शाखाका प्रतिनिधि तथा मनोविमर्शकर्ता पनि साथमै हुन्छन् ।
नगरपालिकाको वडा नम्बर १ स्थित साग्मा माध्यमिक विद्यालयबाट छात्राहरुलाई भेट्ने कार्यक्रम सुरु गरेकी उपप्रमुख निरौलाले हालसम्म नगरका ४ वटा विद्यालयमा पुगेर छात्राहरुलाई भेटेर अन्तरकृया गरिसकेकि छन् । खासमा नगरपालिकाले सञ्चालन गरेको छात्रासँग उपमेयर कार्यक्रमका क्रममा उपप्रमुखले विद्यालय विद्यालय पुगेर छात्राहरुसँग अन्तरकृया गरेकी हुन् ।
नगरपालिकाले नगरमा रहेका सबै माध्यमिक तहका नीजि तथा सामुदायीक विद्यालयमा छात्राहरुसँग छलफल तथा अन्तरकृया गर्दै छात्रासँग उपमेयर कार्यक्रम सुरु गरेको हो । जसअन्तरगत उपप्रमुखको नेतृत्वमा विद्यालयमा पुगेर छात्राहरुसँग उनीहरुका समस्याहरु बुझ्नुका साथै लैंगिक हिंसा, शारिरीक तथा मानसिक हिंसा, साइवर क्राइम, बालविबाह, लागुपदार्थ दुव्यसनी लगायतका विषयमा सचेतना जगाउने काम गर्ने गरिएको छ ।
नगरपालिकाले वडा नम्बर १ को साग्मा माध्यमिक विद्यालयबाट सुरु गरेको कार्यक्रम अन्तरगत सोमबार लेटाङ नगरपालिका वडा नम्बर ४ स्थित ग्रीनभ्याल्ली एकेडेमीका छात्राहरुसँग कार्यक्रम गरेको छ ।
यसरी कार्यक्रम गर्दा छात्राहरुले खासगरि पारिवारिक समस्या तथा विद्यालयमा भएका शौचालय लगायतका समस्या, महिनावारी हुँदा विद्यालयमा भोग्नु पर्ने समस्या, लगायतको विषयमा जानकारी गराउने गरेको उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिइन् ।
कतिपयले भने केहि कुरा भन्न खोजेपनि समूहमा भन्न धकाउने गरेकाले उनीहरुले मनोविमर्शकर्तासमक्ष समस्या सुनाउने गरेको उपप्रमुख निरौलालले बताइन् ।
यसरी विद्यायमा पुगेर समस्या बुझेपछि तत्कालिन र दीर्घकालिन समस्या पहिचान गरि तत्काल समाधान गर्न सकिने विषयमा विद्यालय वा शिक्षा शाखालाई निर्देशन दिने र दीर्घकालिन समस्या भएमा योजना बनाएर समाधान गरिने तथा आगामी कार्ययोजनामा समावेश गरिने उनले जानकारी दिइन् ।
हालसम्म श्री जाँते मावि, लक्ष्मी मावि फडानी, ग्रीनभ्याल्ली एकेडेमी र साग्मा माविमा कार्यक्रम सकिएकोमा क्रमस अन्य सबै माध्यमिक विद्यालयमा कार्यक्रम गरिने उनको भनाइ छ




















