इटहरी। झापा ११ फुटबल क्लबलाई पराजित गर्दै ए डिभिजन क्लब मछिन्द्रले १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
इटहरी रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्रले झापामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। मछिन्द्रका लागि मल्लिक बामिदे युसुफले निर्णायक गोल गरे।
खेलको ३१औं मिनेटमा युसुफले गरेको गोल नै निर्णायक बन्यो, जसले मछिन्द्रलाई सेमिफाइनल यात्रा सहज बनायो। उत्कृष्ट प्रदर्शनका लागि उनी म्यान अफ द म्याच घोषित भए र नगद १० हजार रुपैयाँ प्राप्त गरे।
अब मछिन्द्रले सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) सँग बुधबार प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।




















