सुनसरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज बुढासुब्बा गोल्डकप च्याम्पियन न्युरोड टिम (एनआरटी) र सगरमाथा युथ क्लब बिच प्रतिस्पर्धा हुँदैछ। यो खेल इटहरी रंगशालामा दिउसो तीन बजे सुरु हुनेछ।
दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब आजको खेल जितेर सेमिफाइनलमा स्थान बनाउनको लागि लागिपरेको छ। अर्को तर्फ, एनआरटीले बुढासुब्बा गोल्डकप जितेको निरन्तर लयलाई इटहरी गोल्डकपमा कायम राख्न चाहन्छ।
आजको खेलको विजेताले चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लब बिच मंगलबार हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
यसअघि, हिजो सम्पन्न उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ।




















