धनकुटा । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहका सैनिकहरुले पदयात्रा गरेको सुनसरीको धरान देखि धनकुटाको साँघुरीगढी सम्म ऐतिहासिक स्थानको प्रवद्धनका लागि पदयात्रा गरिएको छ ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसर पारे एकीकरण मार्गमा भीमदल गणको आयोजनामा सैनिक तथा गैरसैनिकहरुले धरानको फुर्से सैनिक क्याम देखि साँघुरीगढी सम्म पदयात्रा गरिएको हो ।
ऐतिहासिक महत्व बोकेको फुर्सेबाट साँघुरीगढी सम्म २घण्टाको पैदल यात्रा इतिहास बोकेको यस स्थानलाई प्रवद्र्धन गर्ने हिसावले पदयात्रा गरिएको नेपाली सेनाको नम्बर २ बाहिनीका बाहिनीपति महेशकुमार थापा वताउछन ।
ऐतिहासिकताका साथै ४सय २५ मिटर देखि २हजार ५सय मिटर सम्म दुई घण्टामा पैदल यात्रा गरेर पुगिने साँघुरीगढी सम्मको पदयात्रामा मनमोहक दृष्यहरु अवलोकन गर्न सकिने पदयात्रा अभियान्ता राजिव हलुवाई वताउछन । उनले कोशी, लालिगुँसार र माथिल्लो भाग समेत अवलोकन सहितको पदयात्रा रोमान्चक हुने भएकाले पदयात्रीहरुका लागि उपयुक्त हुने समेत हलुवाईले जानकारी गराए ।
विभिन्न राज्यमा विभिजित नेपाललाई एकीकरण गर्ने कार्यमा पृथ्वी नारायण शाह र उनका सैनिकहरुले प्रयोग गरेको एकीकरणमार्गको प्रवद्र्धनका लागि गरिएको पदयात्रामा नेपाली सेनाले पृथ्वी नारायण शाहकालीन पोशाक र हतियार सहित पदयात्रा गरेको थियो । पदयात्रामा गैरसैनिकहरुको समेत सहभागिता रहेको थियो ।




















