एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई ३० नम्बरको जर्सी लगाउन प्रस्ताव गरेको छ । स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोनामा लगाउँदै आएको १० नम्बरको जर्सी नेयमारले लगाएका कारण मेस्सीलाई ३० नम्बरको जर्सी प्रयोग गर्न प्रस्ताव गरिएको हो ।
ब्राजिलियन फरवार्ड नेयमारले हालै मेस्सी पिएसजी आउँदा १० नम्बर जर्सी स–सम्मान दिने जनाएका थिए । तर मेस्सीले भने आफ्नो साथीबाट उसको जर्सी खोस्ने मनसायमा छैनन् । मेस्सीले पहिले प्रयोग गर्नेगरेको १९ नम्बरको जर्सी उनका लागि विकल्प बन्न सक्छ । तर त्यसअघि मेस्सीले प्रयोग गरेको ३० नम्बरको जर्सी लगाउन पिएसजीले प्रस्ताव गरेको खबरमा जनाइएको छ ।
पिएसजीले वार्षिक करिब ४० मिलियन डलर दिनेगरी मेस्सीलाई प्रस्ताव गरेको जनाइएको छ । एक वर्ष सम्झौता थप्न सकिने विकल्पसहित पिएसजीले मेस्सीलाई अफर गरेको बताइएको छ । यता, मेस्सी पनि पिएसजी जान सहमत भइसकेको बताइन्छ । आइतबार बार्सिलोनाबाट बिदा हुँदैगर्दा मेस्सीले पिएसजी जाने सम्भावना रहेको उल्लेख गरेका थिए ।
लामो समय बार्सिलोना बसेर क्लबविहीन भएका मेस्सी मङ्गलबारसम्म मेडिकलका लागि पेरिस पुग्ने दाबीसमेग गरिएको छ । यस्तै, मेस्सी अनुबन्धनको औपचारिक घोषणा गर्न पिएसजीले पेरिसको आइफल टावरसमेत बुक गरिसकिएको बताइन्छ ।
यता, इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोले उनले मेस्सीका वकिलहरू र बुबा जर्ज मेस्सीले पिएसजीको आधिकारिक प्रस्तावनाका विषयमा काम गरिरहेको उनले जनाएका छन् । पिएसजीले आइतबार नै मेस्सी अनुबन्धका लागि अफर गरेको जनाउँदै उनले मेस्सी पेरिस प्रस्थान गरेमा सहमति भएको मान्न सकिने जनाएका छन् ।




















