संघीय सरकार निर्माणमा एमाले नेतृत्वको समीकरण बनेसँगै प्रदेश १ मा सोही राजनीतिक दलको बहुमत रहेको छ । यद्यपि प्रदेश १ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको टुंगो लगाउन केन्द्रमा एमाले–माओवादीलगायतका दलबीच सहमति भइसकेको छैन । प्रदेश १ मा सबैभन्दा ठूलो दल रहेको एमालेसँग ४० सांसद छन् । माओवादी केन्द्रसँग १३, राप्रपासँग ६ र जसपासँग १ सांसद छन् । सबै सांसदको संख्या जोड्दा ६० पुग्छ । ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना भए पुग्छ ।
उता, नेपाली काँग्रेससँग २९ र नेकपा एससँग ४ जना सांसद गरी ३३ जना रहेका छन् । नेकपा एसले सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय गरिनसकेको र सरकारमा जाने निर्णय गरेको खण्डमा प्रतिपक्षीमा काँग्रेस एक्लै हुने सम्भावना छ ।
यस्तै प्रदेश १ मा निर्णायक सांसदको रुपमा रहेकी जसपाकी सांसद निर्मला लिम्बूको महत्व पनि अब घट्ने भएको छ । यसअघि सत्ता पक्षमा रहेका काँग्रेस, माओवादीलगायतसँग ४६ हुँदा एमाले र राप्रपासँग पनि सांसद संख्या ४६ थियो । दुवै पक्षले आ–आफ्नो ढंगले सरकार बनाउने प्रयास गर्दा जसपाकी सांसद लिम्बू निर्णायक बनेकी थिइन् । एमाले र माओवादीले सत्ता सहकार्यमा जाने निर्णय गरेसँगै उनको निर्णायक स्थान पनि गुमेको छ ।
को होला मुख्यमन्त्री ?
नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन गरेको छ । कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री पनि हुन् । एमालेले प्रदेश १ को मुख्यमन्त्री पाउने माओवादीसँग सहमति भए उनै कार्की मुख्यमन्त्री हुने देखिएको छ । माओवादीको भागमा मुख्यमन्त्री पाएको खण्डमा उक्त पार्टीबो इन्द्रबहादुर आङ्बो हुने निश्चित छ । आङ्बो बाहलवाला प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् । माओवादी केन्द्रले भोली आयोजना गरिएको प्रदेशसभा सदस्यहरुको शपथग्रहणको कार्यक्रम सकेर दलको नेता चयन गर्ने जनाएको छ । विभिन्न प्रदेश र केन्द्रमा राप्रपाको समर्थनमा सरकार बन्न सक्ने सम्भावना रहको हुदा १ नम्बर प्रदेश र वाग्मती प्रदेश मध्ये १ नम्बर प्रदेशमा मुख्यमन्त्रीमा राप्रपाको दाबी रहन सक्ने देखिन्छ । राप्रपाको नेतृत्वमा प्रदेश १ सरकार गठन हुने भएका राप्रपाका तर्फ वाट भक्ती सिटौला मुख्यमन्त्रीको दावेदारको रुपमा प्रस्तुत हुनसक्ने राजनितीक वृतमा चर्चा हुदै आएको छ ।




















