झापा, २० पुस । झापाकी महिला नेतृ रञ्जु प्याकुरेल र अम्बर बिष्ट आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेका छन् ।

राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका हुन् ।
बिष्ट राप्रपाका पूर्व जिल्ला अध्यक्ष र प्याकुरेल विर्तामोड नगर समितिकी अध्यक्ष हुन् ।

राष्ट्रिय सभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख चार जना गरी पाँच जना मतदाता छन् ।

पैदेश नं. १ मा पाँच दलीय गठबन्धन र नेकपा एमालेको मतभार हाराहारीमा रहेको हुँदा राप्रपाको मत निर्णायक मानिएको छ ।

एमाले नेताहरूले सहकार्य गरेर अघि बढ्ने बताइरहँदा राप्रपाले पनि उम्मेदवारी दिएको हो ।

राप्रपाले उम्मेदवारी दर्ता गरेपछि प्रदेश १ मा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिनेको संख्या ८ पुगेको छ ।

एमालेबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तापक्षीय गठबन्धनको तर्फबाट खुलातर्फ काङ्ग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी नेतृ जयन्ती राई र अल्पसङ्ख्यक वा अपांग कोटामा जसपा केन्दीय सदस्य हेमराज राईले उम्मेदवारी दर्ता गरेका हुन् ।