सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्स एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेशलिस्ट पदमा काम गर्न काजमा खटाउने निर्णयसमेत गरेको छ ।

त्यस्तै निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, सुर्खेत जिल्लाको साविकको लेखफर्सा, काफलकोट र लेखपराजुल गाविसको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय, मेहलकुना, सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।



प्रवक्ता कार्कीले नेपाली सेनाका प्रधान सेनापति, महारथी प्रभुराम शर्मा मिति २०७८–०९–१८ देखि मिति २०७८–०९–३० सम्म घर विदामा रहनुहुने भएकोले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, टाक्टोर–लामाजुरा सडकखण्डको ट्रयाक ओपन गर्न सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने र चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन/प्रयोगात्मक अभ्यास/इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।