काठमाण्डाै । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि दोस्रो चरणबाट टुङ्गो लाग्ने भएको छ । मतदानको पहिलो चरणबाट कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणबाट टुङ्गो लाग्ने भएको हो ।

सभापति पदका अर्का उम्मेदवार शेखर कोइराला निर्वाचन प्रक्रिया दोस्रो चरणमा पुगोस् भन्ने चाहेका थिए । पहिलो चरणको निर्वाचनमा देउवालाई बिजयी हुन नदिने र निर्वाचन प्रक्रिया दोस्रो चरणमा लैजाने रणनीतिमा लागेका शेखर दोस्रो चरणको निर्वाचनबाट आफू सजिलै बिजयी हुने निष्कर्षमा पुगेका छन् ।

दोस्रो चरणको निर्वाचन भएको खण्डमा एकै ठाउँमा उभिने शेखर, प्रकाशमा र विमलेन्द्रबीच भद्र सहमति भइसकेको थियो । पहिलो चरणको निर्वाचनमा यीमध्ये जो दोस्रो हुन्छ त्यसलाई सबैले समर्थन गरेर बिजयी गराउँने भद्र सहमति भएकै कारण देउवा पहिलो चरणबाटै निर्वाचित हुने तयारीमा जुटेतापनि ८२ मत नपुग्दा जित निकाल्न सकेनन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका हुन् ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । सभापतिमा दोस्रो चरणमा शीर्ष दुईमा रहेर मत परिणाम टुंगो लगाएका शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच भिडन्त हुनेछ ।

दोस्रो चरणमा जसले बढी मत ल्याउँछ उही विजयी हुनेछ । समीकरण हेर्दा शेरबहादुर देउवा बाहेकको पक्ष एक ठाउँमा हुने हो भने जित डा. कोइरालाको हुने देखिन्छ । अहिले बदर भएका ७७ मत पनि सदर हुने र भोट नहालेका ६४ प्रतिनिधिहरूले पनि दोस्रो चरणमा भोट हाल्ने सभावना भएकोले चुनाव कता जान्छ भन्न सकिने अवस्था छैन ।

मतदान हुनुपूर्व विमलेन्द्र निधीले दोस्रो चरणमा पुगे इतर पक्ष एक ढिक्का हुने बताएका थिए । सो आधारमा शेखरको पक्षमा मत जाने देखिन्छ । तर संस्थापनइतर एकैठाउँमा भएतापनि भोट बाडिने सम्भावना कायम नै छ ।

देउवा पक्षले इतर पक्षको मत आफूतिर पार्नका लागि प्रयास भने गरेको देखिन्छ । बिहानै देउवा पक्षका बालकृष्ण खाँण प्रकाशमान सिंहको घरमा भेट्न गइसकेका छन् । दोस्रो चरणमा कोइरालाको पक्षमा बाहिरिएका बाँकी प्रतिस्पर्धी एक हुने र सबै एक ठाउँमा आए आफू पराजित हुने देउवालाई डर छ ।

यसले समीकरण कत्तिको बदलिन्छ त्यो हेर्न बाँकी छ । तर यदि संस्थापन र इतरको मत बाँडिएन भने इतरले जित्ने निश्चित हुनेछ । यता नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले रामचन्द्र पौडेलको योगदानको चर्चा गरेका छन्।

१४ औं महाधिवेशनमा सभापतिको भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएर दोस्रो चरणको मतदानमा पुगेको समयमा देउवाले योगदानको कार्ड फ्याकेका हुन् ।मंगलबार बिहान पार्टीको १४ औं महाधिवेशनका प्रतिनिधिहरुका लागि पौडेलले चियापान कार्यक्रम आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हामी एक भएर अगाडि बढ्ने बताए।

दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर पक्ष एक भएको खण्डमा आफूले बहुमत ल्याउन गाह्रो पर्ने बुझेका देउवाले रामचन्द्र पौडेललाई मनाउन खोजेको बुझिएको छ ।‘रामचन्द्रजीको धेरै योगदान छ । नेतालाई आदर गर्नुहोस्।’ उनले भने, ‘रामचन्द्र जी आदरणीय व्यक्तित्व हो। भोलिका दिनमा धेरै ठूलो योगदान दिनुछ। हामी एक भएर छोड्छौं।’

यसैबीच सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन्। चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा गर्ने दोहोर्‍याए।उनले भने, ‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो । उहाँहरु(देउबा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौँ ।’कोइरालाले अन्तरआत्माको आवाजले भोट दिन अनुरोध गरेका छन्। मंगलबार बिहान भएको मतगणनामा कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।