ताप्लेजुङ / ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार साँझ दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
सिरिजङ्घा गाउँपालिका–३ बोखिमस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मो १ त ६८९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । प्रहरीका अनुसार गोलिया लोड गरेको चार जना सवार ट्याक्टर सडकबाट लगभग दुई सय मिटर तल झरेको थियो ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले दुर्घटनामा परेर सिरिजङ्घा–३ का २५ वर्षीय वसन्त लिम्बू र १५ वर्षीय समीर लिम्बूको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएकामध्ये वसन्तको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ ५ः२० बजेतिर मृत्यु भएको हो ।
समीरको तेल्लोक स्वास्थ्य चौकीमा उपचारका क्रममा ६ः३५ बजेतिर मृत्यु भएको एसपी खतिवडाले बताए । दुर्घटनामा ट्याक्टर चालक सिरिजङ्घा–३ का २३ वर्षीय अमिन लिम्बू र १९ वर्षीय सुशन लिम्बू गम्भीर घाइते भएका छन् ।
सिकिस्त अवस्थाका उनीहरुको धरानमै उपचार भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि माउण्टेन एयरको हेलिकोप्टरबाट धरान ल्याइएको थियो । प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ ।



















