काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनअन्तर्गत आज (शुक्रबार) उम्मेदवारको मनोनयन दर्ता गरिँदै छ ।अहिले बिहान ७ बजेदेखि उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय गरिएको छ ।
मनोनयनपछि उम्मेदवारको पहिलो नामावली प्रकाशन, दाबी विरोध, फिर्ता लिने, उम्मेदवारको अन्तिम सूची प्रकाशितलगायत हुनेछ । शनिबारलाई मतदानको कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिनिधि विवादका कारण महाधिवेशनको समय एक दिन लम्बिएको हो । महाधिवेशनअन्तर्गत हिजो उद्घाटनसत्र सम्पन्न गरी निर्वाचनप्रक्रियासमेत सुरु गर्ने र आज सम्पन्न गर्ने कार्यसूची थियो । महाधिवेशनको उद्घाटनसत्र सुरु हुनअगावैदेखि महाधिवेशन प्रतिनिधिको विषयमा विवाद छ ।
अध्यक्षका उम्मेदवार तथा पार्टी नेता राजेन्द्र लिङ्देनले अध्यक्ष कमल थापा पक्षले प्रतिनिधिको सङ्ख्या र नाम आफूूखुसी फेरबदल गरेको आरोप लगाएको छ । थापासमेत नयाँ अध्यक्षका लागि उम्मेदवार बन्दै छन् ।लिङ्देनको आरोपछि छानविन गरेर प्रतिनिधि टुङ्गो लगाएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले गएराति चार हजार चार सय ७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक ग¥यो । यो सूचीमा समेत दाबी विरोधको समय आज बिहानसम्मलाई दिइएको छ । थप पाँच प्रतिशत प्रतिनिधि अध्यक्षत्रयले मनोनयन गर्न बाँकी नै छ । लिङ्देन र थापा अलग–अलग प्यानलसहित चुनावी मैदानमा छन् ।



















