- तेजबहादुर बन
इटहरी । स्थानीय नागरिकलाइ खोलाको जग्गा मिचेर घर बनाएको भन्दै कार्यकक्षमा थुनेर बिवादमा तानिएका इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी र नेपाली कांग्रेस बिच ४ बुदे सहमति भएको छ । सहमति संगै नेपाली कांग्रेसले नगर प्रमुखको कार्यकक्षमा लगाएको ताला खुलेको छ ।
अबको दिनमा यस्तो गल्ति नदोहोर्याउने प्रतिवद्धता सहित नेपाली कांग्रेस संग चार बुदे सहमति पश्चात कार्यकक्षमा लगाइएको ताला शुक्रबार दिउसो देखि खोलिएको हो ।
शुक्रबार नेपाली कांग्रेस इटहरी र उपमहानगरका मेयर चौधरी बिच भएको छलफल पछि चारबुदे सहमति जुटे लगत्तै नगर प्रमुखको कार्यकक्षमा लगाइएको ताला खोलिएको हो । गत साउन २७ गते इटहरी ४ का स्थानिय यामप्रसाद ढकाललाइ मेयर चाैधरीले खाेलाकाे जग्गा मिचेर घर बनाएकाे भन्दै कार्यालय प्रमुखकाे काेठामा ३ घण्टा थुनेका थिए ।
मेयर चाैधरीले सामान्य नागरिक प्रति गरेकाे अमानविय व्यवहारकाे चाैतर्फि बिवाद र सामाजिक सञ्जालमा बिराेध भएपछि शुक्रबार नेपाली कांग्रेसले बिवाद मिलाउन भुमिका निर्वाह गरेकाे थियाे । मेयर चौधरीलाइ आचरण सुधार्न अनुरोध गर्दै नेपाली कांग्रेस इटहरी बिहीबार देखि आन्दोलनमा उत्रिएको थियो ।
उक्त सहमति पत्र अनुसार सार्वजनिक जग्गा खोजि अभियानमा लागिरहदा नेपालको संविधान अनुसार कानुनको पालना गरेर काम गर्ने मेयर चौधरीले प्रतिवद्धता जनाएका छन । त्यस्तै उपमहानगरले गर्ने हरेक सकरात्मक कार्यहरूमा नेपाली कांग्रेसको पनि साथ सहयोग रहने जनाइएको छ ।
उक्त सहमति पत्रमा नेपाली कांग्रेसको तर्फबाट इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल र उपमहानगरको तर्फबाट नगर प्रमुख द्वारिकलाल चौधरीले हस्ताक्षर गरेका छन ।



















