काठमाडौं । नेकपा एमाले संसदीय दलको विधान संशोधन गरिएको छ । मुख्य सचेतक भट्टराई संयोजक तथा शेरबहादुर तामाङ र विमला राई पौड्याल सदस्य रहेको समितिले संशोधित विधानको मस्यौदा दलको बैठकमा पेस गरेका थिए । उक्त विधान शनिबार नै बस्ने केन्द्रीय कमिटीले पास गर्ने तयारी भइरहेको छ ।

दलको विधानमा समूहगत माग राख्न नपाउने र त्यसरी माग राखेमा कारबाही गर्ने व्यवस्था राखिएको तामाङले जानकारी दिए । त्यस्तै संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाइएको उनले बताए । पार्टीभित्र गुटगत राजनीति गर्नेहरूलाई बोर्डले स्पष्टीकरण सोध्ने व्यवस्था राखिएको छ ।

त्यस्तै, यसअघि संसदीय दलको नेता राष्ट्रिय सभाबाट पनि निर्वाचित हुन पाउने व्यवस्था रहेकोमा अब संसदीय दलको नेता प्रतिनिधिसभाबाट मात्रै निर्वाचित हुने व्यवस्था गरिएको तामाङले जानकारी दिए ।

दलको उपनेता संसदीय दलको बैठकले निर्वाचित गर्ने व्यवस्था पनि परिमार्जन गरेर दलको नेताले दलको उपनेता तोक्ने व्यवस्था राखिएको छ । विधान केन्द्रीय कमिटीबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।