काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरूले गरिरहेको बताएका छन् ।


नेपाल कम्युनिस्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले तीन वर्षदेखि पार्टीमा लागेको खिया फाल्ने प्रयास आफूहरूले गरिरहेको बताए । पूर्ववत् पार्टीका सबै संरचनाको बैठक, भेलालगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी काम भइरहेको उनले स्पष्ट पारे ।

उनले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको ‘जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ’ भनेजस्तै भएको टिप्पणी गरे । ‘सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएको भए पनि त्यो हामी मान्दैनौँ तिमीहरू पुरानै ठाउँमा फर्क भनेर फैसला गरिदियोय,’ माधव नेपालले भने, ‘यो जन्मेको बच्चा मान्दैनौँ फेरि गर्भमा लैजाउ भने जस्तै फैसला हो ।’

नयाँ सङ्गठन अस्तित्वमा आइसकेको अवस्थामा सर्वोच्चले यस्तो फैसला गरिदिनु गतल भएको उनले बताए । ‘फैसला गलत भए पनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौँ भन्न मिलेन,’ नेता नेपालले भने, ‘नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो, एकताको कुरै मान्दैनौँ भन्न्ने । त्यो फैसलामा बहस फैसला त गर्दैगरौँला तर हामी निर्णय मान्न बाध्य छौँ ।’

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उनले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफूहरूको प्रस्ताव ओलीले नमानेको दाबी गरे ।

‘पूर्वएमाले व्युँतनु भनेको पुरानो सङ्गठन फेरि ब्युँतिनु हो,’ उनले भने, ‘ तर केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न ।’
मुलुकभर पार्टीका सबै सङ्गठनको राष्ट्रिय भेला गरिने उनले बताए । किसान सङ्घ, उत्पीडित समुदायलगायतको राष्ट्रिय भेला गरेर पार्टीलाई पुर्नजीवन र पुर्नताजगी दिने उनको भनाइ छ । उनले लोकतन्त्रको पक्ष र प्रतिगमनकारीविरुद्धको आन्दोलनमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने बताए ।