इटहरी मुस्लिम समुदायको सामाजिक तथा मानवीय सेवाप्रतिको उत्तरदायित्वलाई निरन्तरता दिँदै अहले सुन्नत वेलफेयर सोसाइटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
२०८३ साल भदौ १२ गते शुक्रबार इटहरीमा आयोजित रक्तदान कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मुस्लिम समुदायका अगुवा, सामाजिक अभियन्ता, युवा तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
रगतको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। दुर्घटना, शल्यक्रिया, प्रसूति लगायतका अवस्थामा रगतको आवश्यकता पर्ने भएकाले मानवीय सेवाका रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाइटीको भनाइ छ।
कार्यक्रममा सहभागी रक्तदाताहरूले ‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ स्वेच्छाले रक्तदान गरेका थिए। रक्तदान गर्ने स्वस्थ व्यक्तिहरूलाई प्रोत्साहित गर्दै समाजमा नियमित रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री रामकुमार सुब्बाले मानव सेवाको कुनै जात, धर्म वा समुदाय नहुने भन्दै रक्तदानजस्तो पुण्य कार्यले समाजमा आपसी सद्भाव र भाइचाराको भावना बलियो बनाउने बताए। समुदायले सामाजिक सेवाका क्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो।
आयोजकका अनुसार कार्यक्रममा संकलन भएको रगत आवश्यकताअनुसार बिरामीको उपचारमा प्रयोग हुने गरी व्यवस्थापन गरिनेछ। रगतको अभावमा कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आगामी दिनमा पनि रक्तदान लगायतका मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने सोसाइटीले जनाएको छ।
इटहरी मुस्लिम समुदायले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै सोसाइटीले समुदायको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा सहभागीहरूले मुस्लिम समुदायको आयोजनामा भएको रक्तदान कार्यक्रमले धार्मिक तथा सामुदायिक सीमाभन्दा माथि उठेर मानव सेवाको सन्देश दिएको बताएका थिए। यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
रक्तदान कार्यक्रममार्फत संकलित रगत आवश्यक परेका बिरामीको जीवन बचाउन उपयोगी हुने भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदानमा सहभागी हुन आयोजकले आग्रह गरेको छ। मानवता, सद्भाव र सेवाको भावनालाई आत्मसात् गर्दै इटहरी मुस्लिम समुदायले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




















