IMG_9053इटहरी । नेपाली फिल्म निर्माणमा समयमै छायांकन सम्पन्न गर्नु चुनौतीपूर्ण मानिन्छ । अझ प्राविधिक जनशक्तिले पारिश्रमिक समयमै नपाउने गुनासोसमेत सुनिँदै आएको अवस्थामा उडान स्टुडियोको प्रस्तुति रहेको पारिवारिक फिल्म ‘आशा’ले भने निर्धारित कार्यतालिकामै छायांकन पूरा गरेको छ ।

एक महिनाको समयसीमा तोकेर सुरु गरिएको फिल्मको सम्पूर्ण छायांकन निर्धारित समयमै सकिएको निर्माण पक्षले जनाएको छ । छायांकन सम्पन्न भएसँगै फिल्म अहिले पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गरेको छ । फिल्म आगामी माघ १ गते माघेसंक्रान्तिको अवसरमा प्रदर्शन गर्ने तयारीमा छ ।

छायांकन सम्पन्न भएको अवसरमा आयोजित इन्डक्ल्याप समारोह भने फिल्म निर्माण पूरा भएको खुसीयालीसँगै मानवीय संवेदनाको उदाहरणसमेत बनेको छ । समारोहमा निर्मात्री शर्मिला थापाले फिल्मको प्राविधिक टोलीमा स्पोटब्वाईका रूपमा कार्यरत अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

घिमिरेकी पत्नीको ब्लड क्यान्सर उपचारका लागि उक्त रकम सहयोग गरिएको हो । पारिश्रमिकबाहेक प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै घिमिरेले निर्माण टिमप्रति धन्यवाद व्यक्त गरे । 

काठमाडौँ उपत्यकाका विभिन्न स्थानसँगै काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको छायांकन गरिएको हो । छायांकनबाट प्राप्त नतिजाप्रति निर्माण पक्ष उत्साहित देखिएको छ । निर्मात्री थापाले कलाकार तथा प्राविधिकको मेहनतका कारण आफूहरूले अपेक्षा गरेभन्दा राम्रो काम गर्न सफल भएको बताइन् ।

उनका अनुसार नेपालीपन बोकेको कथालाई आधुनिक र गुणस्तरीय प्राविधिक पक्षसहित दर्शकमाझ प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

राजिव गुरुङको कथा तथा निर्देशन रहेको ‘आशा’ पारिवारिक कथावस्तुमा आधारित फिल्म हो । निर्देशक गुरुङका अनुसार परिवारसँग जोडिने र दर्शकलाई भावनात्मक रूपमा प्रभावित पार्ने कथालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीको प्रमुख भूमिका रहेको छ । बालकलाकारतर्फ चिराग श्रेष्ठ र काश्वी भण्डारीले अभिनय गरेका छन् ।

फिल्मको वितरण रीच इन्टरटेन्मेन्टका करण श्रेष्ठले गर्नेछन् । रामकुमार श्रेष्ठ सह–लेखक रहेको फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् ।

त्यसैगरी स्क्रिप्ट सुपरभिजन तथा कास्टिङमा सुदाम सिके, संगीतमा युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनमा किशोर आचार्य, सम्पादनमा लोकेश बज्राचार्य, मेकअप तथा हेयरमा सोनाली शिल्पकार, मुख्य सहायक निर्देशनमा तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी, प्रोडक्सन डिजाइनमा रेलिजा श्रेष्ठ तथा पब्लिसिटी डिजाइनमा रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) रहेका छन् ।

छायांकन निर्धारित समयमै सकेर पोस्ट–प्रोडक्सनमा प्रवेश गरेको ‘आशा’ले माघेसंक्रान्तिमा नेपाली दर्शकमाझ कस्तो प्रभाव पार्छ, त्यसका लागि अब यसको अन्तिम प्राविधिक तयारीतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।