साउन २२, २०८३ | सप्तकोसी अनलाइन

पवन सिग्देल

इटहरी । निर्माणाधीन नेपाली चलचित्र ‘The Rise of Saamrajya’ मा अभिनेता दयाहाङ राई औपचारिक रूपमा आबद्ध भएका छन्। निर्माण टिमले विशेष पोस्टर सार्वजनिक गर्दै दयाहाङलाई चलचित्रमा स्वागत गरेको हो।

चलचित्रमा दयाहाङ राईको प्रवेशसँगै ‘द राइज अफ साम्राज्य’प्रति दर्शकको चासो थप बढेको निर्माण पक्षले जनाएको छ। नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका दयाहाङको अभिनयले चलचित्रलाई थप बलियो बनाउने अपेक्षा निर्माण टिमले गरेको छ।

दयाहाङको प्रवेशको घोषणा गर्दै निर्माण पक्षले उनको अभिनय क्षमता र पात्रलाई जीवन्त बनाउने शैलीको प्रशंसा गरेको छ। चलचित्रमा उनको भूमिका कस्तो रहनेछ भन्ने विषयमा भने निर्माण टिमले थप विवरण सार्वजनिक गरेको छैन।

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा दयाहाङ राईको आगमनसँगै कलाकारको लाइनअप थप आकर्षक बनेको छ। यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल समेत आबद्ध भइसकेका छन्।

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव रहेका छन् भने सह–निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डेय छन्। चलचित्रको डीओपी मन कृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ तथा मिडिया को–अर्डिनेटर सुरक्षा भट्टराई रहेका छन्।

निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार, कथावस्तु तथा प्रदर्शन मितिसहितका जानकारी क्रमशः सार्वजनिक गरिँदै जानेछ। दयाहाङ राई र सौगात मल्लजस्ता लोकप्रिय कलाकारको सहभागिताले ‘The Rise of Saamrajya’ प्रति दर्शकको अपेक्षा अझ बढ्ने निर्माण टिमको विश्वास छ।