पवन सिग्देल
इटहरी/ नेपाली हास्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार तथा ‘मह जोडी’का मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’ निर्माणको तयारी तीव्र बनाइएको छ । फिल्ममा कलाकारहरूको अनुबन्धसँगै यसको स्टारकास्ट पनि विस्तार हुँदै गएको छ ।
यसैक्रममा अभिनेत्री वर्षा राउत फिल्ममा अनुबन्धित भएकी छन् । उनले फिल्ममा हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिका निर्वाह गर्ने भएकी हुन् ।यसअघि नै हरिवंश आचार्यको युवावस्थाको भूमिकाका लागि अभिनेता अरुण क्षेत्री अनुबन्धित भइसकेका छन् । वर्षाको प्रवेशसँगै ‘म मदनकृष्ण’मा अरुण र वर्षाको जोडी पहिलोपटक पर्दामा देखिने भएको छ ।
फिल्मका निर्देशक मिलन चाम्सले वर्षालाई अरुणको अपोजिटमा अनुबन्ध गरिएको पुष्टि गरेका छन् । उनका अनुसार वर्षाले रमिला पाठकको भूमिका निर्वाह गर्नेछिन् । यही निर्माण टिमले आगामी दिनमा निर्माण गर्ने भनिएको हरिवंश आचार्यको बायोपिकमा समेत अरुण र वर्षाले क्रमशः हरिवंश र रमिलाको भूमिका निर्वाह गर्ने बताइएको छ ।
केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’मा अभिनयबाट चर्चा बटुलेकी वर्षाका लागि ‘म मदनकृष्ण’ अर्को महत्त्वपूर्ण प्रोजेक्टका रूपमा हेरिएको छ ।फिल्ममा मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि उनको सरकारी जागिरे जीवन, अन्तरजातीय विवाह, हरिवंश आचार्यसँगको भेट तथा सहकार्य र जीवनका विभिन्न उतारचढावलाई कथाको मुख्य आधार बनाइने निर्माण पक्षले जनाएको छ ।
नेपाली कला क्षेत्रमा मदनकृष्ण श्रेष्ठले पुर्याएको योगदान र उनको व्यक्तिगत जीवनका महत्त्वपूर्ण घटनालाई समेत पर्दामा प्रस्तुत गरिनेछ । ‘म मदनकृष्ण’मा मुख्य पात्र मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् । त्यस्तै, मदनकृष्णकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री र रमिला पाठकको भूमिकामा वर्षा राउत फाइनल भएका छन् ।
फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।गत वर्ष राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापोको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ निर्देशन गरेका मिलन चाम्सले ‘म मदनकृष्ण’लाई निर्देशन गर्दैछन् । भिन्टेज मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन् ।
नेपाली हास्यव्यङ्ग्य तथा कला क्षेत्रमा लामो समयदेखि सक्रिय मदनकृष्ण श्रेष्ठको जीवन, संघर्ष र सफलतालाई ठूलो पर्दामा हेर्न पाउने भएकाले ‘म मदनकृष्ण’लाई सुरुदेखि नै चासोका साथ हेरिएको छ । फिल्मले कलाकारको व्यक्तिगत जीवनसँगै नेपाली कला क्षेत्रको एउटा महत्वपूर्ण कालखण्डलाई समेत पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।




















