इटहरी । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, पहिचान र सम्मानको प्रवर्द्धन गर्ने उद्देश्यले इटहरीमा ‘प्राइड महिना–२०८३’ विशेष कार्यक्रम सम्पन्न भएको छ।
मानव कल्याण समाज, सुनसरीको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अभियन्ता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
होटल त्रियुगा, इटहरीमा आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सपना परियार प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् भने इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरी विशिष्ट अतिथि रहेकी थिइन्। कार्यक्रमको अध्यक्षता मानव कल्याण समाजकी अध्यक्ष मुस्कान श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमको संयोजन देवनारायण चौधरीले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य सपना परियारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारका विषयमा आफूले प्रदेशसभामा निरन्तर स्पष्ट र खुला रूपमा आवाज उठाउँदै आएको बताइन्। उनले समाजमा अझै पनि यस समुदायले विभेद, अपहेलना र अवसरबाट वञ्चित हुनुपरेको अवस्था रहेको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन्।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा राज्यका सबै निकायमा समान पहुँच सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि आफूले गर्न सक्ने सबै प्रकारको सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
विशिष्ट अतिथि उपमेयर संगीता चौधरीले समावेशी समाज निर्माणका लागि सबै नागरिकलाई समान अवसर र सम्मान आवश्यक रहेको बताउँदै स्थानीय सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संरक्षण तथा सशक्तीकरणका क्षेत्रमा आवश्यक सहयोग गरिरहेको बताइन्। उनले समाजमा अझै रहेका विभेदकारी सोचको अन्त्य गर्दै विविधतालाई स्वीकार गर्ने संस्कृतिको विकास गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखिन्।कार्यक्रमको अध्यक्षता गर्दै मानव कल्याण समाजकी अध्यक्ष मुस्कान श्रेष्ठले प्राइड महिना केवल उत्सव नभई समानता, मानव अधिकार र पहिचानको अभियान भएको बताइन्। उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अझै पनि सामाजिक विभेद, हिंसा र बहिष्करणको सामना गरिरहनुपरेको भन्दै राज्यका सबै तहले उनीहरूको अधिकार सुनिश्चित गर्न प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइन्।
कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको योगदानको सम्मानस्वरूप विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। यस अवसरमा नेपालको इतिहासमा पहिलो पटक पारालिम्पिक महिलाको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सफलतापूर्वक आरोहण गरेकी निलम पौडेललाई मानव कल्याण समाजले विशेष सम्मान–पत्र प्रदान गरेको थियो।
सम्मानपत्रमा उनको साहस, दृढ संकल्प, आत्मविश्वास र उपलब्धिले सम्पूर्ण समाजलाई प्रेरणा दिएको उल्लेख गरिएको थियो।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, नृत्य तथा चेतनामूलक कार्यक्रममार्फत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान, अधिकार र सम्मानको सन्देश प्रवाह गरिएको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा रहेको गलत धारणा हटाउन, विविधतालाई स्वीकार गर्ने वातावरण निर्माण गर्न तथा समानता र समावेशिताको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार प्राइड महिना मनाउनुको मुख्य उद्देश्य लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अस्तित्व, पहिचान, अधिकार र सम्मानप्रति समाजलाई थप सचेत गराउनुका साथै सबैका लागि समान अवसर, सामाजिक न्याय र समावेशी वातावरण निर्माणमा सहयोग पुर्याउनु हो। कार्यक्रमले विविधताको सम्मान र समानताको अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
यसमा नृत्य र फेसन शो भएको थियो उनीहरुलाई पुरस्कार चाहिँ रु.५-५ हजारले प्रदान गरिएको थियो ।




















