सुनसरी। नेपालका प्रथम जगद्गुरुको उपाधि पाएका बालसन्त मोहनशरण देवाचार्य पछिल्लो समय आफ्नो आध्यात्मिक योगदानभन्दा राजनीतिक सक्रियताका कारण विवादमा तानिएका छन्। सुनसरीको चतराधामलाई ‘प्राचीन हरिद्वार’को रूपमा स्थापित गर्न सफल र हजारौं अनुयायी भएका सन्तका हालिया गतिविधिले उनको ‘जगद्गुरु’ पदको तटस्थता र सर्वस्वीकार्यतामाथि गम्भीर प्रश्न उठाएको छ।

केही दिनदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा स्थानीयस्तरमा देखिएका गतिविधिले देवाचार्यलाई कुनै आध्यात्मिक गुरु भन्दा पनि एउटा राजनीतिक दलका सक्रिय कार्यकर्ता वा प्रचारकका रूपमा प्रस्तुत गरिरहेको देखिन्छ। उनले चतराधामस्थित आफ्नै पिठमा अनुयायीहरूलाई बोलाएर राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को चुनाव चिन्ह ‘हलो’मा मतदान गर्न दबाब दिएको आरोप लागेको छ। साथै, उनी हाल भेटघाट र घरदैलो कार्यक्रममार्फत खुला रूपमा हलोमा भोट माग्दै हिँडिरहेको स्थानीयहरू बताउँछन्।

मत माग्दा प्रयोग गरिएको भाषा विवादास्पद

बालसन्त मोहनशरणले मत माग्ने क्रममा प्रयोग गरेको भाषा झनै विवादास्पद बनेको छ। उनले सार्वजनिक रूपमा, ‘अब हलोमा भोट हाल्नुहोला, रुख काटेर हलो बनाउने हो, तारा झार्ने हो, सूर्यलाई बादल लगाउने हो’ भन्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। आध्यात्मिक गुरुले प्रयोग गर्ने यस्तो रूपक र संकेतले अन्य राजनीतिक दल र चिन्हप्रति शत्रुतापूर्ण भावना सिर्जना गर्ने र समाजमा वैचारिक विभाजन बढाउने जोखिम रहेको विश्लेषकहरू बताउँछन्।

विशेषगरी आफ्ना अनुयायी तथा निम्मार्गी भक्तहरूलाई धार्मिक आस्थाको आधारमा राजनीतिक निर्णय गर्न दबाब दिनु ‘अनुचित प्रभाव’ को श्रेणीमा पर्ने भन्दै आलोचना भइरहेको छ। यसले जगद्गुरुजस्तो गरिमामय पदलाई ‘दल विशेषको झोले’ जस्तो बनाएको टिप्पणी पनि सार्वजनिक रूपमा हुन थालेको छ।

कानुन र आचारसंहिताको प्रश्न

नेपालको संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई राजनीतिक विचार राख्ने र संगठित हुने अधिकार दिएको छ। कानुनीरूपमा देवाचार्य कुनै संवैधानिक वा सार्वजनिक लाभको पदमा नरहेकाले राजनीति गर्न पाउने अधिकार उनलाई छ। तर, जगद्गुरुजस्तो पद संवैधानिक पदभन्दा फरक, सामाजिक र आध्यात्मिक रूपमा उच्च नैतिक जिम्मेवारी बोकेको पद मानिन्छ।

निर्वाचन आचारसंहिताले धार्मिक स्थललाई राजनीतिक प्रचारको केन्द्र बनाउन स्पष्ट रूपमा निषेध गरेको छ। चतराधामजस्तो पवित्र तीर्थस्थलमा राजनीतिक भेला गर्नु, मत माग्नु र अनुयायीहरूलाई प्रभावमा पारेर मतदान गराउनु कानुनी र नैतिक दुवै दृष्टिले गलत ठहरिन सक्ने जानकारहरू बताउँछन्।

सर्वस्वीकार्यताको क्षय र सामाजिक विभाजन

‘जगद्गुरु’ को अर्थ सारा जगतका गुरु भन्ने हुन्छ। तर, जब कुनै गुरुले एउटा मात्रै राजनीतिक चिन्ह र दलको पक्षमा खुलेर उभिन्छन्, तब उनी सबै विचारधारा र आस्थाका मानिसका गुरु रहन नसक्ने तर्क उठाइएको छ। रुख, तारा वा सूर्य चिन्ह मान्ने लाखौँ अनुयायीहरूका लागि यस्तो व्यवहारले दूरी सिर्जना गर्ने खतरा देखिएको छ।

धर्मले समाजलाई एकताबद्ध गर्नुपर्ने मान्यता रहँदै आएको छ। तर, धार्मिक गुरु स्वयं राजनीतिक घरदैलोमा निस्किँदा समाजमा धार्मिक सद्भाव खल्बलिने र एउटै धर्मभित्र पनि राजनीतिक ध्रुवीकरण बढ्ने अवस्था सिर्जना भएको जानकारहरूको भनाइ छ। राजनीति नै गर्ने हो भने ‘जगद्गुरु’ को पगरी फुकालेर खुला राजनीतिमा आउनु नैतिक हुने, अन्यथा गुरुको आवरणमा राजनीतिक स्वार्थ पूरा गर्नु आध्यात्मिक ठगीसरह हुने टिप्पणी भइरहेको छ।

ऐतिहासिक योगदान ओझेलमा पर्ने खतरा

मोहनशरण देवाचार्यले नेपालको पहिलो जगद्गुरुका रूपमा स्कन्द पुराणको अनुसन्धान, कुम्भ मेलाको आयोजना तथा मेची–महाकाली पदयात्राजस्ता ऐतिहासिक र धार्मिक अभियानको नेतृत्व गरेका छन्। यस्ता योगदानले बनाएको उनको उचाइलाई एउटा राजनीतिक दलको प्रचारक बनेर स्वयं धुमिल पार्नु सुहाउने विषय नभएको धार्मिक क्षेत्रका जानकारहरू बताउँछन्।

हिन्दु राष्ट्रको एजेन्डा बोक्नु उनको वैचारिक स्वतन्त्रता हुन सक्छ। तर, त्यसका लागि कुनै दलको कार्यकर्ताजस्तै घरदैलो गर्दै अन्यको अस्तित्व मेटाउने संकेतयुक्त भाषा प्रयोग गर्नुले उनको आफ्नै मर्यादा र गरिमामा आँच पुगेको विश्लेषण गरिएको छ। समयमै यस्ता गतिविधि सच्याएर आफ्नो सर्वस्वीकार्यता जोगाउनु नै जगद्गुरु स्वयं र उनका अनुयायीहरूको हितमा हुने राजनीतिक र धार्मिक क्षेत्रका नेताहरूको सुझाव छ।