राजनीतिक बेथिति, नेतृत्वको संकट र युवा पुस्ताको असन्तोषलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको प्रतिक्षित नेपाली फिल्म ‘बिगुल’ ले आफ्नो देशव्यापी प्रचारप्रसार अभियान कोशी प्रदेशबाट औपचारिक रूपमा शुभारम्भ गरेको छ। आगामी माघ ९ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रचार टोली यतिबेला कोशी प्रदेशको केन्द्र मानिने इटहरी मा पुगेको छ ।
मंगलबार बिहान इटहरीस्थित जेसिस भवन मा आयोजित विशेष कार्यक्रममार्फत फिल्मको प्रचार अभियानको शंखघोष गरिएको हो। इटहरी जेसिजको आयोजना तथा व्यवस्थापन मा सम्पन्न उक्त कार्यक्रममा जेसिज तथा जुनियर जेसिजका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
फिल्मका लेखक तथा निर्माता दिनेश कोइराला र निर्देशक रमेश कोइराला नेतृत्वको टोली कोशी प्रदेशमा करिब ३ देखि ४ दिनसम्म रहेर आक्रामक प्रचारप्रसार गर्ने योजनासहित पूर्व नेपाल आइपुगेको हो। कार्यक्रममा बोल्दै निर्माता कोइरालाले पछिल्लो समय देशमा देखिएको युवा वितृष्णा, निराशा र राजनीतिक आन्दोलनको मनोविज्ञान लाई फिल्मले प्रतिबिम्बित गर्ने बताए ।
टिजर र ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई हालै देखिएको ‘जेनजी’ आन्दोलनसँग जोडेर हेर्ने गरिएको सन्दर्भमा उनले स्पष्टिकरण दिँदै भने,
“फिल्मको छायांकन बैशाख महिनामै सुरु भइसकेको थियो। त्यसैले यो कुनै आन्दोलनबाट प्रेरित भएर बनाइएको होइन। तर, फिल्मले उठाएका सवाल र अहिले सडकमा सुनिएका आवाजबीच समानता देखिनु संयोग मात्र हो ।”
उनका अनुसार ‘बिगुल’ मनोरञ्जनका लागि मात्र नभई समाजलाई सोच्न बाध्य बनाउने चेतनामूलक फिल्म हो ।गत आइतबार सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलर ले दर्शकमाझ गम्भीर बहसको थालनी गरिसकेको छ। ट्रेलरमा सत्ताको लुछाचुँडी, पुराना नेताहरूको कुर्सी मोह, र पटक–पटक ठगिएको युवा पुस्ताको आक्रोश लाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ। साथै, परिवारभित्रको द्वन्द्व, राजनीतिक स्वार्थका कारण पीडित आम नागरिक र आसन्न निर्वाचनको परिवेशलाई समेट्दै फिल्मले
“अब देशलाई कस्तो नेतृत्व चाहिन्छ ?” भन्ने मूल प्रश्न उठाएको छ ।फिल्मको अर्को आकर्षण यसको संगीत पक्ष हो। फिल्मका गीतहरूमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईं को संगीत रहेको छ, जसले फिल्मलाई थप अर्थपूर्ण बनाएको छ ।
दिनेश कोइरालाको कथा तथा निर्माण मा बनेको फिल्मलाई रमेश कोइराला ले निर्देशन गरेका हुन्। फिल्ममा बेनीशा हमाल, नरेन खड्का र विनोद न्यौपाने ले युवा पुस्ताको प्रतिनिधित्व गरेका छन् भने सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह र हेमन्त बुढाथोकी जस्ता अनुभवी कलाकारहरूको अभिनयले फिल्मलाई सशक्त बनाएको छ ।
शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको पटकथा प्रदीप भारद्वाज र मौनता श्रेष्ठ ले तयार पारेका हुन्। फिल्ममार्फत मिरा पण्डितले डेब्यु गरेकी छन् भने रविन्द्र खड्का विशेष भूमिकामा देखिनेछन् ।
राजनीतिक बेथिति, नेतृत्वको संकट र युवा पुस्ताको असन्तोषलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको प्रतिक्षित नेपाली फिल्म 



















