इटहरी/ सुनसरीको इटहरीमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ स्थित वीपी चौकमा मध्यराति ११ः४५ बजे आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटवालको मृत्यु भएको हो । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी मात्रै जानकारी पाएपनि दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।