इटहरी । सुनसरीको इटहरीमा परम्परागत तथा लोपोन्मुख बन्दै गई रहेका खाना परिकारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा जोड दिदै दोस्रो इटहरी परम्परागत खाना महोत्सव हुने भएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा होटल तथा लज व्यवसायी समिति र इटहरी फुटवल संघको सहआयोजनामा आगामी फागुन १ गते देखि ११ दिने परम्परागत खाना महोत्सव सञ्चालन गरिने भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४को आइतबारेमा सञ्चालन हुने परम्परागत खाना महोत्सवका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा परम्परागत रुपमा खाइने जातिय खानेकुराहरुको प्रवद्र्धन र संरक्षणमा जोड दिदै महोत्सव आयोजना गर्न लागिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले जानकारी दिए ।
पत्रकार सम्मेलमा पर्यटन प्रवद्र्धन ,खाना संस्कृतिको विकाससंगै लोपोन्मुख बन्दै आइरहेका खानाहरुको संरक्षणका लागि यस क्षेत्रमा बसोवास गर्ने विभिन्न जातिका मानिसहरुका जातिय परिकारहरु समेत महोत्सवमा स्टल राखिने जनाइयो ।
महोत्सवमा सर्वसाधारण देखि आन्तरिक पर्यटक , पर्यटन व्यवसायी ,होटल व्यवसायीहरुको सहभागिता रहने जनाइयो । महोत्सवको तयारी पुरा भएको सो अवसरमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा होटल ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रविन गौतम, होटल तथा लज व्यवसायी समितिका अध्यक्ष तथा महोत्सवका संयोजक उमानाथ दाहाल ,होटल तथा लज व्यवसायी समितिका महासचिव दिपक पोख्रेल लगायतले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए । महोत्सवमा सयपत्री इन्टरटेनमेटले वाल उद्यान राख्ने समेत जनाइयो ।




















