धनकुटा  । विसं २०४० सालमा आठ सय ६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मत सम्भारको बजेट अभावमा जीर्ण बन्दै गएको छ ।

यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यस विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । 

अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिन थालेका छन् भने वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । निर्माण गरेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिनुभयो । 29d83a06-5861-4d74-b6ba-1937c4b39161

उहाँका अनुसार शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब रु चार करोडजति खर्च लाग्ने भएका छ । हाल अन्य शीर्षकमा आएको रकमबाट मिलाएर शिक्षालय सञ्चालन गरिरहेको विद्यालयको मर्मतसम्भारका लागि नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको हो । “भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ”, कोइरालाले भन्नुभयो, “लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा कोहीबेला प्रयोगात्मक परीक्षा नै रोकिन्छ ।

वार्षिक एक सय ६० विद्यार्थी भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त देशभरिका ६५ आङ्गिक शिक्षालयमा कोशी प्रदेशअन्तर्गत रहेका सात वटा मध्ये यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । पछिल्लो समयमा स्थानीय तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको थियो । यतिवेला भने विद्यार्थीको चाप बढेको छ ।